२९ भदौ काठमाडौँ। आजदेखि सर्वसाधारणले बैंक तथा वित्तीय संस्थाबाट दशैंका नयाँ नोट साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपालका अनुसार उपत्यका भित्रका सर्वसाधारणले आज भदौ २९ गतेदेखि नयाँ नोट साट्न सक्नेछन् भने उपत्यका बाहिरका सर्वसाधारणले असोज २ गतेदेखि नयाँ नोट साट्न सक्नेछन् ।
मङ्गलबारसम्म राष्ट्र बैंकले २५ बैंक तथा वित्तीय संस्थामा दुई अर्बभन्दा बढीको नयाँ नोट वितरण गरिसकेको छ भने अन्य बैंक तथा वित्तीय संस्थाले पनि नयाँ नोट साट्दै आएका छन् ।
राष्ट्र बैंकका कार्यालय, वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाबाट नयाँ नोट साट्न सक्नेछन्। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई दुई पटकसम्म नयाँ नोट वितरण गरिने जनाएको छ।
राष्ट्र बैंकका अनुसार प्रत्येक व्यक्तिले ५, १०, २०, ५० र १०० गरी कुल १८ हजार ५ सय रुपैयाँ नयाँ नोट सटही गर्न सक्नेछन्।
राष्ट्र बैंकका अनुसार बैंकहरुलाई असोज ७ गतेभित्र नयाँ नोट उपलब्ध गराइने र सर्वसाधारणले असोज १४ गतेसम्म नयाँ नोट सटही गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।