असोज ३ काठमाडौं। आज देशभर संविधान दिवसको उपलक्षमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ। आजको दिन २०७२ असोज ३ मा संविधानसभाबाट जनप्रतिनिधिले लिखित संविधान जारी गरेको दिनलाई चिनिन्छ।
वर्तमान संविधान नेपालको सातौं लिखित संविधान हो, जसले नागरिकको सामाजिक आर्थिक र सांस्कृतिक अधिकारमार्फत समाजवाद स्थापना गर्ने लक्ष्य राखेको छ । दोस्रो जनआन्दोलन, शान्ति सम्झौता र शान्ति प्रक्रियामा आधारित संविधानसभाबाट जारी भएकोले यसको विशेष महत्व छ । यसअघि सात राजनीतिक दल र नेकपा–माओवादीबीच शान्ति सम्झौता भएको थियो ।
सबैभन्दा महत्त्वपूर्ण कुरा यसले एकात्मक व्यवस्था र राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ व्यवस्थालाई औपचारिक रूपमा संस्थागत गरेको छ ।
टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष समारोहको आयोजना गरिएको छ।