तामाकोसी–काठमाडौं ४०० केभी प्रसारण लाइनका पाँच टावर निर्माणमा समेत असर परेको लप्सीफेदी सबस्टेसन निर्माणमा स्थानीयको अवरोध हटाउन नेपाल विद्युत प्राधिकरणले वार्ता सुरु गरेको छ ।
प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, शङ्खरापुर नगरपालिकाका मेयर रमेश नापित लगायत सरोकारवालाको टोलीले बिहीबार सबस्टेसन निर्माण स्थलको निरीक्षण गरेको थियो ।
बस्तीको बिचमा सबस्टेसन बनाउँदा मानव बस्ती प्रभावित नहुने र सबस्टेसन निर्माणले सो क्षेत्रमा विद्युत आपूर्ति भरपर्दो हुने र उद्योग स्थापनाका नयाँ अवसर सिर्जना हुने घिसिङले बताए । काठमाडौं उपत्यकामा सघन जनसङ्ख्या भएका ठाउँमा ११ भन्दा बढी सबस्टेसन रहेको स्पष्ट पारे ।
सबस्टेसन निर्माणमा राजनीतिकरण नगर्न आग्रह गर्दै उहाँले भन्नुभयो, “हामी हाम्रो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस क्षेत्रमा पूर्वाधार विकासमा लगानी गर्न तयार छौं, स्थानीय जनतालाई अधिकतम फाइदा पुग्ने गरी सबस्टेसन निर्माण गर्नेछौँ ।
वार्ता र छलफलबाट समस्या समाधान गर्न सकिने बताउँदै उनले भने, ‘सबस्टेसन निश्चित क्षेत्रमा बन्ने भएकाले त्यसलाई सुन्दरता र पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न पनि सकिन्छ । यसैबीच छलफलमा सहभागीहरूले यस क्षेत्रको वातावरणीय, सामाजिक, आर्थिक र सांस्कृतिक पक्षमा असर पर्ने भएकाले सबस्टेसन र प्रसारण लाइनलाई अर्को ठाउँमा सार्न माग गरेका छन् ।
प्राधिकरणले तामाकोशी र सुनकोशी नदीमा निर्माण भएका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत मुख्यतया काठमाडौं उपत्यकामा वितरण गर्न लप्सीफेदीमा ४०० केभी, २२० केभी र १३२ केभी सबस्टेसन निर्माणको काम थालेको छ ।