असोज ११ काठमाडौं। वाग्मती प्रदेश प्रहरी कार्यालयले दशैंमा यात्रुको सुविधाका लागि प्रदेशभर ५२ वटा यात्रु सहायता कक्ष स्थापना गरेको छ । चाडपर्वको विशेष सुरक्षा योजनाअनुरुप यात्रु तथा नागरिक सहायता कक्ष स्थापना गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
चाडपर्वमा हुने भीडभाड र सर्वसाधारणलाई पर्न जाने असुविधालाई मध्यनजर गर्दै वाग्मती प्रदेशका १० जिल्लामा एकैपटक ५२ वटा यात्रु तथा नागरिक सहायता कक्ष सञ्चालन गरिएको बागमती प्रदेश प्रहरी प्रमुख (डिआइजी) किरण बज्राचार्यले जानकारी दिएका छन्।
उनका अनुसार प्रदेशका बसपार्क तथा बढी चहलपहल हुने ठाउँमा ट्राफिक प्रहरीसँगको हेल्प डेस्क स्थापना गरिएको छ । मकवानपुरमा आठ, चितवनमा चार, धादिङमा छ, नुवाकोट र रसुवामा छ, काभ्रेमा नौ, सिन्धुपाल्चोकमा पाँच, दोलखामा एक, रामेछापमा दुई र सिन्धुलीमा पाँच हेल्प डेस्क स्थापना गरिएको छ ।
यात्रु तथा नागरिक सहायता कक्षमा ट्राफिक र महिला प्रहरीसहित एक सिफ्टमा १५६ प्रहरीसहित २४ सै घण्टा प्रहरीको उपस्थिति रहनेछ ।
डिआइजी बज्राचार्यले चाडपर्वमा हुन सक्ने चोरी, ठगीजस्ता घटना हुन नदिन वाग्मती प्रदेशको प्रहरी टोली तत्पर रहेको बताउनुभयो र यस अभियानमा सर्वसाधारणको साथ र समन्वयको अपेक्षा गर्दछौं ।
प्रहरीले आवश्यक सतर्कता अपनाउन र कुनै अप्रिय घटना भएमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।