असोज १४ काठमाडौं । चाडपर्व सुरु भएसँगै काठमाडौं महानगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ । कामपा उपमेयर सुनिता डंगोलको नेतृत्वमा रहेको टोलीले विगत केही दिनदेखि दिनहुँ बजार अनुगमन गर्दै आएको छ ।
कामपाका अनुसार बिहीबार साल्ट ट्रेडिङ, बर्गर हाउस, केएफसी फास्ट फुडलगायत स्थानबाट अखाद्य बस्तु बरामद गरिएको हो । कामपाले साल्ट ट्रेडिङ कर्पोरेशनको जडिबुटी बिक्री केन्द्रबाट २० केजीका ६ बोरा चामल, २५ किलोका २ बोरा चामल र एक किलो तौलका १७ प्याकेट मकैको भुसी बिक्रीमा रोक लगाएको छ । खाद्य गुणस्तर नियमन तथा पशुपन्छी महाशाखाका प्रमुख डा अवधेश झाले उत्पादन लाइसेन्स नहुँदा यी वस्तुको बिक्री वितरणमा रोक लगाइएको बताए ।
झाका अनुसार पुरानो सिनामंगल मन्दिर नजिकै रहेको केएफसी फास्टफुडमा फेला परेको दुई लिटर अखाद्य तेल, २५० एमएल एप्पल साइडर भिनेगरका पाँच बोतल नष्ट गरिएको छ । त्यसैगरी पेप्सीकोला टाउन प्लानिङ फुटबल ग्राउन्ड नजिकैको द बर्गर हाउसको भान्छामा प्रयोग गरिएको १४ लिटर तेल र क्रन्ची फ्राइड चिकेन र सोही तेलमा भुटेको एक किलो कुखुराको मासु नष्ट गरिएको छ ।
काठमाडौं खाद्य प्रविधि तथा गुण नियन्त्रण महाशाखाका खाद्य निरीक्षक नवराज आचार्यले साल्ट ट्रेडिङ, केएफसी फास्ट फुड र द बर्गर हाउसलाई सात दिनभित्र खाद्य लाइसेन्स लिएर कार्यालयमा आउन पत्राचार गरेका छन् ।
त्यसैगरी कामपाको बजार अनुगमन टोलीले भाटभटेनी सुपर मार्केटलाई प्रत्येक शाखामा खाद्य अनुमतिपत्र राख्न र प्याकेजिङका लागि घरेलु तथा साना उद्योग कार्यालयबाट लाइसेन्स लिन निर्देशन दिएको छ । संकटा गणेश मन्दिरदेखि धरहरातर्फका मासु पसलमा समेत अनुगमन गरिएको छ ।
महानगरको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिका संयोजक समेत रहेका उपमेयर डंगोलले उपभोक्तालाई ठगी भएको आशंका लागे टोल फ्री नम्बरमा सम्पर्क गरी उजुरी दिन आग्रह गरे ।