नेपालले क्यानडालाई काठमाडौंबाट भिसा दिने व्यवस्था मिलाउन आग्रह गरेको छ । बिहीबार ओटावामा सम्पन्न नेपाल–क्यानडा द्विपक्षीय परामर्श संयन्त्र (बीसीएम) को तेस्रो बैठकमा उक्त आग्रह गरिएको हो । बैठकमा परराष्ट्र सचिव भरतराज पौड्याल र ग्लोबल अफेयर्स क्यानडाका सहायक उपमन्त्री पल थोपिलले आ-आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।
क्यानडामा नेपालीहरुको बढ्दो संख्या र दुई देशबीचको बढ्दो जनसम्पर्कलाई ध्यानमा राख्दै परराष्ट्र सचिव पौड्यालले क्यानडाली पक्षलाई नेपालमा क्यानडाको प्रतिनिधित्व स्थापना गर्न र काठमाडौंमा भिसा जारी गर्ने व्यवस्था मिलाउन क्यानडाली पक्षलाई आग्रह गरेका छन् ।
क्यानडामा नेपालको आवासीय मिसन छ, तर क्यानडाको काठमाडौंमा दूतावास वा वाणिज्य दूतावास छैन। नेपालले क्यानाडाली अधिकारीहरूलाई भिसा सेवा सहज बनाउन दूतावास वा वाणिज्य दूतावास स्थापना गर्न अनुरोध गर्दै आएको छ। हाल नयाँ दिल्लीस्थित क्यानाडाली नियोगले नेपाली नागरिकका लागि भिसा जारी गर्दै आएको छ ।
भेटमा दुई पक्षबीच विकास सहयोग, व्यापार तथा लगानी, शिक्षा, संस्कृति र पर्यटनका साथै वातावरण र जलवायु परिवर्तनलगायत द्विपक्षीय हितका विविध विषयमा छलफल भएको विज्ञप्तिमा उल्लेख छ । भेटमा पौड्यालले क्यानडाली पक्षसँग नेपालको विकास प्राथमिकता, एलडीसी वर्गबाट उत्तीर्ण र संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य हासिल गर्न गरिएका प्रयासका बारेमा जानकारी गराएका थिए ।