चार दिनदेखिको अविरल वर्षापछि आएको बाढीले बस्ती डुबानमा परेपछि १४४ परिवार विस्थापित भएका छन् ।
नवलपरासी पूर्वका चार स्थानीय तह गैँडाकोट र मध्यविन्दु नगरपालिका र हुप्सेकोट र विनयी त्रिवेणी गाउँपालिकाका १४४ परिवार बाढीका कारण विस्थापित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकारी सन्तोष पाठकले गैँडाकोट नगरपालिकाका ८०, माण्डीविन्दु नगरपालिकाका २०, विनयी त्रिवेणी गाउँपालिकाका २८ र हुप्सेकोट गाउँपालिकाका १६ परिवार विस्थापित भएको बताए ।
विस्थापित परिवारले क्याम्पस, विद्यालय भवन, सार्वजनिक भवन, वन क्षेत्रको खुला ठाउँमा आश्रय लिएका छन् ।
पाठकले डुबानमा परेका परिवारलाई तत्कालका लागि नजिकैको सुरक्षित स्थानमा सारिएको र स्थानीय तहलगायत सरोकारवालाको समन्वयमा पुनःस्थापना गरिने जानकारी दिए ।
अविरल वर्षाले परिवार विस्थापित मात्र नभएर सडकमा समेत क्षति पुगेको छ । विभिन्न स्थानमा पहिरो खसेपछि जिल्ला सदरमुकाम नवलपुरको पहाडी क्षेत्रबीचको यातायात सम्पर्क विच्छेद भएको छ ।
दुई स्थानीय तह बौदिकाली र बुलिङटार गाउँपालिकाबीचको सम्पर्क पूर्णरुपमा अवरुद्ध हुँदा हुप्सेकोट, मध्यविन्दु र विनयी त्रिवेणीका पहाडी क्षेत्रमा यातायात सेवा सञ्चालन हुने अवस्था छैन ।
जिल्लाको कालीगण्डकी करिडोरका विभिन्न स्थानमा पहिरो खसेको सूचना अधिकारी पाठकले जानकारी दिए ।
जिल्लामा मानवीय क्षति नभए पनि विनयी त्रिवेणी गाउँपालिका–९ मा करिब १५० बिघा जमिनमा लगाएको धान नष्ट भएको छ ।
अविरल वर्षाले पानीका मुहान प्रदूषित भएपछि केही स्थानमा खानेपानीको समस्या भएको पाठकले बताए । (RSS)