म्याग्दी असोज २३। अभूतपूर्व वर्षाले म्याग्दी जिल्लामा जलविद्युत आयोजना, सडक र कृषिमा ठूलो क्षति पुगेको छ। केही दिनदेखि परेको अविरल वर्षाका कारण धेरै ठाउँमा बाढी र पहिरोले दशैं मनाउने स्थानीयवासी प्रभावित भएका छन् ।
यसैबीच, बाढीले धौलागिरी गाउँपालिका–१ गुर्जामा रहेको ३५ किलोवाट क्षमताको इङ्लेखोला लघु जलविद्युत केन्द्रमा क्षति पुर्याएपछि विद्युत् आपूर्ति अवरुद्ध भएको छ जसका कारण गुर्जाका २६५ घरपरिवार अन्धकारमा परेका छन् ।
त्यसैगरी चार दिनदेखि परेको अविरल वर्षाका कारण जिल्लाका अधिकांश सडक अवरुद्ध भएका छन् । जिल्ला सदरमुकाम बेनीदेखि बेनी–दरवाङ र बेनी–जोमसोम जाने सडक अवरुद्ध भएको छ ।
यसैबीच, जिल्लाको लेकाली क्षेत्रमा असोजको शुरुमा पहिलो पटक हिमपात भएको छ । गुर्जा गाउँ नजिकैको पहाडमा शुक्रबार दिउँसोदेखि हिमपात भएको छ । असोज महिनामा पहिलो पटक हिउँ परेको स्थानीयवासीले बताएका छन् ।
म्याग्दीमा अविरल वर्षा र हावाहुरीका कारण सयौं हेक्टर जमिनमा लगाएको धानबालीमा क्षति पुगेको छ । वर्षा र हावाहुरीका कारण धानबालीमा नोक्सानी भएको स्थानीय तहका कृषि प्राविधिकले जानकारी दिए ।
हावाहुरीले बगाएर र वर्षाको पानीले भिजाएर कटनी नजिकै रहेको धानमा क्षति पुगेको छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाभर ३,८९२ हेक्टरमा धान खेती भएको छ ।