इनरुवा असोज २५। धानबालीमा आर्मी कीराको प्रकोप बढेपछि सुनसरी जिल्लाका किसान चिन्तित छन् ।
जिल्ला सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाका वडा ५, ६, ७, ८, ९ र १० मा धानबालीमा प्रकोपले असर गरेको छ ।
त्यस्तै इटहरी उपमहानगरपालिका-१७ पाक्ली, दुहबी नगरपालिका, बर्जु र गढी गाउँपालिकाका किसान पनि धानमा आर्मी किराको प्रकोप देखिएपछि समस्यामा परेका छन्। जिल्लाको ५५ हजार हेक्टर क्षेत्रफलमध्ये करिब २० प्रतिशत धान खेतीमा यसको प्रकोप फैलिएको किसानले गुनासो गरेका छन् ।
बबियाको इनरुवा-९ का कृषक बुचुवा यादवले भने, ‘आफ्नो जमिनमा लगाएको धानबालीमा आर्मी कीराले नोक्सान पुराएको छ, न त परामर्श प्राविधिक न त विषादीको काम नै भएको छ।” अर्का किसान चन्दन साहले कटनीका लागि पाकेको धान आर्मी कीराले नष्ट गरेको गुनासो गरे ।
१० कठ्ठा जमिनमा लगाएको स्वर्ण र राधाबाहरा धानमा कीराले क्षति पुर्याएको उनले बताए ।
साहले थपे, “आर्मी किराले धानमा नोक्सान गर्न थालेपछि यहाँका किसान मारमा परेका छन्। किराले धान काट्न तयार बाली नष्ट गरेपछि किसानको लगानी अब खेर जानेछ।”
कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नीलकमल सिंहले सुनसरी जिल्लाका किसानलाई आर्मी किराको समस्या समाधानका लागि विभिन्न नगरपालिकाले विभिन्न तालिम, सल्लाह र सुझाव दिइरहेको बताउनुभयो ।