नेपाल दूरसञ्चार प्राधिकरणले ७४ जिल्लाका तोकिएका क्षेत्रमा ब्रोडब्याण्ड सेवा जडानको काम सम्पन्न गरेको छ । प्राधिकरणले विभिन्न १८ प्याकेज मार्फत देशभर ब्रोडब्यान्ड सेवा उपलब्ध गराउने भएको छ । सेवा स्थापनाको काम सकिएपछि उक्त क्षेत्रमा सेवा सञ्चालनमा आएको हो ।
प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले हालसम्म स्थापना भएकामध्ये १० वटा आयोजनाको अनुगमन र परीक्षण सम्पन्न भएको जानकारी दिए । तेस्रो चरणका आठ आयोजनाको अनुगमन र परीक्षण हुन बाँकी छ ।
त्यसैगरी भूकम्पबाट सबैभन्दा बढी प्रभावित काभ्रे, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, दोलखा, सिन्धुली, रामेछाप र ओखलढुङ्गालगायत आठ जिल्लामा सोही कोषबाट ब्रोडब्यान्ड सेवा जडान गर्ने प्रक्रिया अघि बढाइएको पौडेलले जानकारी दिए ।
यस सम्बन्धमा हालसम्म जम्मा ७६ नगरपालिका र गाउँपालिका मध्ये ७३ वटा नगरपालिकासँग समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
प्राधिकरणले संस्थागत क्षमता अभिवृद्धि गर्न सबै स्थानीय सरकारका कार्यालय, वडा कार्यालय, सामुदायिक माध्यमिक विद्यालय, सामुदायिक स्वास्थ्य सुविधा र सबै प्राथमिक विद्यालयलगायत ४ हजार २ सय ५१ क्षेत्रमा कम्तीमा २० एमबीपीएस क्षमताको ब्रोडब्यान्ड इन्टरनेट सेवा जडान गर्ने योजना ल्याएको छ । (RSS)