निर्वाचन आयोगले बिहीबार नेपाल प्रहरीको स्थानीय संरचना र राष्ट्रिय अनुसन्धान विभाग (एनआईडी) मार्फत उम्मेदवार र राजनीतिक दलको निर्वाचन खर्चको विवरण सङ्कलन गरिने जनाएको छ ।
विज्ञप्ति जारी गर्दै आयोगले यही मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन निर्वाचन आचारसंहितालाई कडाइका साथ कार्यान्वयन गरिरहेको जनाएको छ ।
यसै सन्दर्भमा बिहीबार बसेको निर्वाचन आचारसंहिता आयोगको केन्द्रीय अनुगमन समितिको बैठकले गहिरो अध्ययन गरी राजनीतिक दल र तिनका उम्मेदवारको खर्चको अनुगमन र आचारसंहिताको पालना गर्ने आयोगलाई विवरण उपलब्ध गराउन गृह मन्त्रालयमार्फत नेपाल प्रहरी र एनआइडीलाई पत्राचार गर्ने निर्णय गरेको हो।
निर्वाचन आचारसंहिता, २०२२ को दफा ४२ बमोजिम निर्वाचन खर्चको प्रतिवेदन उपलब्ध गराउन सुरक्षा निकायलाई अनुरोध गरिएको छ ।
उम्मेदवार र राजनीतिक दलको खर्च आयोगले तोकेको सीमाभित्र छ वा छैन र निर्वाचन आचारसंहिता पालना भएको छ वा नभएको पत्ता लगाउन तल्लो तहबाट उम्मेदवार र राजनीतिक दलको अनुगमन गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।
आचारसंहिता अनुगमन समितिको बैठकले यसका लागि सबै जिल्लाका निर्वाचन आचारसंहिता अनुगमन अधिकृत-जिल्ला कोषागार नियन्त्रक कार्यालयका प्रमुखलाई निर्देशन दिएको छ ।
त्यस अनुसार कसैको निजी घर वा सार्वजनिक भवन, सार्वजनिक पार्क, सडकको पोल वा कुनै सार्वजनिक स्थानमा पार्टीको झण्डा, दल वा उम्मेदवारको चुनावी चिन्ह सम्बन्धित क्षेत्रका उम्मेदवारले राखेको मानिनेछ र उनीहरुलाई आचारसंहिता तथा निर्वाचन (कसुर र सजाय) ऐन बमोजिम कारबाही गरिने छ ।
ब्यानर, डिजिटल डिस्प्ले र पर्चा झुण्ड्याएको अवस्थामा सम्बन्धित उम्मेदवारलाई स्पष्टीकरण मागेको २४ घण्टाभित्र त्यस्ता सामग्री हटाउन भनिएको छ र त्यसो नगरे निर्वाचन ऐन बमोजिम कारबाही हुनेछ ।