डेंगुका कारण हालसम्म देशभर ४७ जनाको ज्यान गएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार हालसम्म डेंगुबाट मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।
हालसम्म ७७ जिल्लामा ३८ हजार ९१८ जनामा डेंगु पोजेटिभ देखिएको ईडीसीडीको किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले जानकारी दिए ।
ईडीसीडीका पूर्व निर्देशक तथा जनस्वास्थ्य विज्ञ डा बाबुराम मरासिनीले हिमाली तथा पहाडी क्षेत्रको सङ्क्रमण घटेसँगै तराईका जिल्लामा डेङ्गुको सङ्क्रमण बढ्न सक्ने बताउनुभएको छ ।
उनका अनुसार डेंगु सर्ने लामखुट्टे धेरै गर्मीमा बाँच्न नसक्ने भएकाले अहिलेसम्म तराई क्षेत्रमा सङ्क्रमण कम देखिए पनि गर्मी घटेसँगै अबदेखि तराई क्षेत्रमा डेङ्गुका बिरामी बढ्न सक्ने उनको भनाइ छ ।