सरकारले हिउँदे पदयात्राका लागि १०८ समूहका ९०१ पर्वतारोहीलाई ३५ विभिन्न हिमाल आरोहण गर्न अनुमति दिएको छ ।
पर्यटन विभागका अनुसार मनास्लु हिमालको लागि सबैभन्दा बढी अनुमति दिइएको छ । ३८ समुहका ४०४ पर्वतारोहीलाई हिउँदे आरोहणका क्रममा यो हिमाल आरोहण गर्न अनुमति दिइएको थियो ।
त्यस्तै, विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि एउटै समूहका पाँच जनालाई अनुमति दिएको विभागले जानकारी दिएको छ । अमाडब्लम हिमाल आरोहणका लागि ११ समुहलाई १३१ वटा परमिट जारी गरिएको थियो भने हिमलुङ हिमाल आरोहणका लागि १४ समुहका १४४ आरोहीलाई पनि अनुमति दिइएको थियो ।
धौलागिरि आरोहणका लागि विभिन्न चार समुहका ३४ आरोहीले स्वीकृति पाएका छन् भने एक समूहले नुप्तसे हिमाल आरोहणको अनुमति पाएका छन् ।
यस वर्ष हिउँदे पदयात्राका लागि दिइएको अनुमतिबाट विभागले अहिलेसम्म सात करोडभन्दा बढी रोयल्टी सङ्कलन गरेको छ । नेपालसहित ६८ देशका ९०१ पर्वतारोही विभिन्न हिमाल तथा चुचुरो आरोहणको तयारीमा छन् । (RSS)