आयात व्यावसायीको छाता संगठन नेपाल वैदेशिक व्यापार संघले कार, जीप, भ्यान, तीन सय अमेरिकी डलरभन्दा बढी मूल्यका मोबाइल फोन, १५० सीसीभन्दा बढी क्षमताको मोटरसाइकल र तयारी मदिरा लगायत चार वटा विभिन्न वस्तुको आयातमा लगाइएको प्रतिबन्ध फुकुवा गर्न सरकारसँग माग गरेको थियो ।
सङ्घले विज्ञप्ति जारी गर्दै सरकारले बढी राजस्व दिने वस्तु आयातमा प्रतिबन्ध लगाएपछि राजस्व सङ्कलन लक्ष्य पूरा गर्न नसकेको र अर्बौं रुपैयाँ लगानी गरेका व्यवसायीले पनि ठूलो नोक्सानी बेहोर्नुपरेको बताएको छ । संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गाडी र मोटरसाइकल बाहेक सबै प्रतिबन्धित वस्तु अवैध नाकाबाट तस्करी भइरहेको छ । यो तथ्यलाई मध्यनजर गर्दै बाँकी चार वस्तुको आयातमा लगाइएको प्रतिबन्ध यथाशीघ्र हटाउन संघको जोडदार माग छ ।”
विदेशी मुद्रा सञ्चितिमा दबाब आएपछि सरकारले वैशाख महिनादेखि विभिन्न १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । ६ वटा विभिन्न वस्तुको आयातमा प्रतिबन्ध फुकुवा भइसके पनि कार, जीप, भ्यान, तीन सय अमेरिकी डलरभन्दा बढी मूल्यका मोबाइल फोन, १५० सीसीभन्दा बढी क्षमताको मोटरसाइकल र तयारी मदिराको आयातमा प्रतिबन्ध अझै कायमै छ ।
नेपाल राष्ट्र बैंकले मुद्रास्फीति नियन्त्रण गर्न ब्याजदर बढाउने नीति अपनाएपछि आर्थिक गतिविधिमा कमी आएको महासंघले जनाएको छ । नेपालको आन्तरिक कारणले नभई बाह्य कारणले मुद्रास्फीति बढेको विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्र बैंकको निर्देशनबमोजिम ब्याजदर बढेकाले व्यवसाय सञ्चालन गर्न निकै कठिन भएको आयातकर्ताले सरकारको ध्यानाकर्षण गराए । यसले व्यापारी, सर्वसाधारण र सरकारी राजस्वमा नकारात्मक असर परेको तर्क गर्दै अर्थ मन्त्रालय र राष्ट्र बैंकले यसलाई नियन्त्रण गर्न उपयुक्त कदम चाल्नुपर्ने संघको धारणा छ । आर्थिक गतिविधिमा ह्रास आएका बेला ब्याजदर बढेकाले अर्थतन्त्र मन्दीमा जाने उच्च जोखिम रहेको संघको तर्क छ ।
यस क्षेत्रमा संलग्न संस्थाहरू एकपछि अर्को समस्यामा पर्दै गएको भन्दै संघले सहकारीको अनुगमन राष्ट्र बैंकले गर्नुपर्नेमा जोड दिएको छ ।
लघुवित्त कम्पनीले निश्चित सीमाभन्दा बढी लगानी गर्न नपाउने व्यवस्थाका कारण लघु, साना तथा मझौला व्यवसायले लघुवित्त कम्पनीबाट पर्याप्त मात्रामा ऋण लिन नसकेको भन्दै यस्तो सीमा हटाउन सरकारसँग आग्रह समेत गरेको छ ।