यो वर्ष नेपालमा दुई हजार भन्दा बढी स्क्रब टाइफसका बिरामी फेला परेका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालका अनुसार २०२२ को सुरुदेखि हालसम्म ५० भन्दा बढी जिल्लामा २ हजार ४२३ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको छ ।
बैतडी जिल्लामा सबैभन्दा बढी २१० जनामा संक्रमण देखिएको छ जबकि डडेल्धुरा, कञ्चनपुर, पाल्पा, संखुवासभा, चितवन र काठमाडौं जिल्लामा क्रमशः १५७, १३४, ११३, १०१, ८४ र ४४ जनामा संक्रमण पुष्टि भएको छ ।
अन्य जिल्लामा एक सयभन्दा कम स्क्रब टाइफसका विरामी दर्ता भएको डा दाहालले बताए ।
उनका अनुसार हरेक वर्ष यो मौसममा देशमा स्क्रब टाइफसका बिरामी आउने गरेका छन् । गत वर्ष देशभरका ५० भन्दा बढी जिल्लामा स्क्रब टाइफसका १,७७३ जनामा संक्रमण देखिएको थियो ।