निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित आठ संस्था र छ व्यक्तिसँग निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण मागेको छ ।
आयोगले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड, पचरौटा नगरपालिकाका मेयर जलन्धरसिंह जैस्वार, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अधिकृत (७) गोकुल वस्ती, जनता पार्टीका अध्यक्ष डा चन्द्रकान्त राउतसँग, नुवाकोट-१ बाट प्रतिनिधिसभाका उम्मेदवार हाम्रो नेपाल पार्टीका अध्यक्ष अनन्तराज घिमिरे र बद्री मैनाली सँग स्पष्टीकरण मागेको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए ।
निर्वाचन आचारसंहिता २०२२ को उल्लङ्घनका सम्बन्धमा आएका उजुरी र जानकारीका आधारमा आयोगले स्पष्टीकरण मागेको भट्टराईले बताए ।
अध्यक्ष प्रचण्डले प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पञ्चेबाजा प्रयोग गरेको विषयमा स्पष्टीकरण दिन आग्रह गरिएको छ ।
त्यसैगरी आयोगले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अर्थ मन्त्रालयलाई आयोग र मन्त्रालयबीच भएको सहमतिअनुसार मात्र काम गर्न निर्देशन दिएको उनले बताए ।
साथै आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सहरी विकास मन्त्रालय, नेपाल प्रज्ञा-प्रतिष्ठान, अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, बीमा समिति र गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।
निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीका लागि छापिएका मतपत्र १८ जिल्लामा पठाएको छ ।
हालसम्म खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, सप्तरी, महोत्तरी, धनुषा, सिरहा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरी जिल्लामा मतपत्र ढुवानी भएको छ ।
निर्वाचन आयोगले शनिबारसम्म फर्स्ट-पास्ट-द-पोस्ट (एफपीटीपी) निर्वाचन प्रणालीअन्तर्गत १ लाख ७० हजार मतपत्र छापिएको जनाएको छ ।