राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी संसदको निर्वाचन स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न गर्न निर्वाचन आयोगले कुनै कसर बाँकी नराख्ने विश्वास व्यक्त गरेकी छन् ।
बिहीबार प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा राष्ट्रपति भण्डारीले मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी निर्वाचन व्यवस्थापन र तयारीका लागि आयोगले खेलेको सक्रिय भूमिकाप्रति सन्तोष व्यक्त गरेकी हुन् ।
निर्वाचन निष्पक्षता कायम राख्नु आयोगको मात्रै नभई राजनीतिक दल, उम्मेदवार र सरोकारवाला र समुदायको पनि चासोको विषय भएको उल्लेख गर्दै उनले निर्भय ढंगले निर्वाचन सम्पन्न गर्न सबै पक्षबीच सहकार्य, समन्वय र अन्तरसम्बन्ध आवश्यक रहेको बताइन् ।
शीतलनिवासमा राष्ट्रपतिलाई निर्वाचनको व्यवस्थापन र तयारीबारे जानकारी दिँदै प्रमुख निर्वाचन आयोग दिनेशकुमार थपलियाले निर्वाचन स्वतन्त्र र भयरहित सम्पन्न गर्न हरसम्भव प्रयास गरिएको बताए ।
सो अवसरमा निर्वाचन आयोगका अध्यक्ष रामप्रसाद भण्डारी र डा जानकीकुमारी तुलाधर, सचिव गोकर्णमणि दुवाडी, सहसचिव शालिग्राम शर्मा पौडेललगायतको उपस्थिति रहेको आयोगका प्रवक्ता कमल भट्टराईले जानकारी दिए । (RSS)