तीन प्रदेशका पर्यटन व्यवसायीले मिलेर पर्यटन प्रवद्र्धनका लागि टुर प्याकेज ल्याउने निर्णय गरेका छन् ।
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके शाखाले ‘टूर प्रोडक्ट डेभलपमेन्ट एण्ड टिकटिङ’ विषयमा चारदिने तालिमको उद्घाटन गर्दै यस्तो घोषणा गरेको हो । नाट्टा सेन्टर र दिगो पर्यटनका लागि जीविका पुनरुत्थान परियोजनाको सहकार्यमा उक्त तालिम सञ्चालन भएको हो ।
नाट्टाका केन्द्रीय सचिव युविका भण्डारीले कोभिड-१९ महामारीपछि पर्यटन क्षेत्रमा दक्ष जनशक्तिको अभाव बढेकाले पर्यटन क्षेत्रमा दक्ष जनशक्ति तयार गर्न तालिम फलदायी हुने बताइन् । उनले पर्यटन क्षेत्रमा जनशक्तिको अभावलाई सम्बोधन गर्न नेपाल पर्यटन बोर्डको योजनाअन्तर्गत देशका विभिन्न स्थानमा यस्ता तालिम सुरु गरिएको बताइन् ।
कार्यक्रममा बोल्दै वीरगन्जका मेयर प्रशान्त विष्टले मुलुकको अर्थतन्त्रको बलियो र स्थायी आधार पर्यटन हुनसक्ने बताए । तालिमपछि तीनै प्रदेशका पर्यटन व्यवसायीले तयार पारेको टुर प्याकेजमा एकरूपता आउने उनले विश्वास व्यक्त गरे ।
नाट्टा बाँके शाखाका अध्यक्ष राम सिग्देलले पश्चिम नेपालमा पहिलो पटक आयोजना गरेको तालिमले पर्यटन व्यवसायीले विश्वका विभिन्न गन्तव्यमा जाने पर्यटकका लागि टिकटको व्यवस्था गरी ट्राभल प्याकेज बनाउन सक्ने बताए ।
तालिममा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश गरी ३० जना टुर एण्ड ट्राभल अपरेटरहरुको सहभागिता रहेको छ । (RSS)