नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले मंसिर ४ गते हुने निर्वाचन पछि नेपाली काँग्रेसको नेतृत्वमा स्थायी सरकार बन्ने बताउनु भएको छ ।
‘लामो समयदेखि रोकिएको विकास प्रक्रियालाई गति दिन र नेपालको समृद्धिका लागि पनि कांग्रेसको नेतृत्वमा सरकार आवश्यक छ, आगामी निर्वाचनपछि यस्तो सरकार बन्ने छ,’ महेन्द्रनगरमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेस प्रवक्ताले भने ।
संविधानको मूल मर्ममाथि विभिन्न रूपले प्रहार भइरहेको र ‘प्रतिगामी तत्व’ विभिन्न बहानामा सक्रिय हुन खोजेको बताउँदै उहाँले वर्तमान सरकारलाई नेपाली जनताले चाहेको बताए ।
कांग्रेस प्रवक्ताले भने, “अहिले पनि हामीले संविधानको रक्षा गरेर देशको विकास गर्नुपर्छ। यो जिम्मेवारी पूरा गर्नका लागि कांग्रेस नेतृत्वको सरकार आवश्यक छ। यो निर्वाचन सबैका लागि कोसेढुङ्गा साबित हुनेछ।”
उनले निर्वाचनपछि मुलुकमा स्थिर सरकार बन्ने र वर्तमान सत्तारुढ गठबन्धनले निर्वाचनमा स्पष्ट बहुमत ल्याउने बताए । निर्वाचनपछि संसदमा सिट संख्याका हिसाबले कांग्रेस पहिलो दल बन्ने दाबी गरे ।
प्रवक्ता महतले आगामी निर्वाचनमा समानुपातिकतर्फ कांग्रेसको भोटको प्रतिशत पनि बढ्ने बताए ।
“सत्तारुढ गठबन्धनका साझेदारहरूको साझा उद्देश्य भएकाले यो गठबन्धन बनेको हो। यो गठबन्धनले निर्वाचनपछि पनि सरकार बनाउने र देशमा विकासको लहर फुकाउनेछ।” (RSS)