बाजुरा । वर्षको ६ महिना विद्यालय जान नपाउने बालबालिका अहिले शनिबार र बिदामा पनि विद्यालय जान थालेका छन् ।
विद्यालय व्यवस्थापन समितिले शनिबार र बिदाका दिन विद्यार्थीलाई पढाउने निर्णय गरेपछि जिल्लाको उत्तरपूर्वी भेगमा पर्ने बूढीनन्द नगरपालिका-७ स्थित सिद्धेश्वरी आधारभूत विद्यालयका विद्यार्थी बिदामा पनि विद्यालय जान थालेका छन् ।
भोटे समुदायका धेरै बालबालिका यस विद्यालयमा अध्ययन गर्ने र नियमित विद्यालय जान हिचकिचाउने गरेको सिद्धेश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक तुलाबहादुर रावतले बताए ।
“धेरै बालबालिका आफ्ना आमाबुवासँग भेडा र बाख्रा पाल्ने काममा संलग्न छन् र धेरैजसो बालबालिका जाडोमा कक्षा छुट्ने भएकाले पढाइमा निकै कमजोर हुने गरेको रावतले बताए ।
विद्यालय व्यवस्थापन समितिले भोटे समुदायका विद्यार्थीलाई पढाइमा सुधार गर्न कम्तीमा ६ महिना बसोबासको सुविधा दिएको रावतले बताए । हिमाली क्षेत्रका अधिकांश भोटे समुदाय जाडो महिनामा भेडापालनका लागि समतल क्षेत्रमा सर्ने र आफ्ना बालबालिकालाई लिएर जाने गर्छन ।
विद्यालय व्यवस्थापन समितिले विद्यार्थीलाई कक्षा नछुटाउन यस वर्षदेखि बालबालिकालाई विद्यालयमै राख्ने निर्णय गरेको छ । घरमा सुरक्षा अभावका कारण हिउँदमा विद्यालय नआउने बालबालिकालाई नियमित गर्ने उद्देश्यले विद्यालय व्यवस्थापन समितिले यसै वर्षदेखि विद्यालयमा राख्ने निर्णय गरेको हो ।
यस वर्षदेखि विद्यालयलाई आवासीय विद्यालयका रुपमा सञ्चालनमा ल्याएपछि शनिबार र बिदाका दिन पनि बालबालिकाले अध्ययन गर्न पाएको स्थानीयले बताएका छन् ।
यहाँका नयाँ पुस्ताले भेडाबाख्रा पालन गरेर मात्रै जीविकोपार्जन गरिरहेको बूढीनन्द नगरपालिका-७ का टेकबहादुर थापा (भोटे) बताउँछन् ।
हिउँदमा हिमाली क्षेत्रमा बाक्लो हिउँ पर्ने भएकाले भेडाबाख्रा चराउन समस्या हुने उनले बताए । व्यवसाय गर्दा घरमा बालबालिकाको हेरचाह गर्ने कोही नहुँदा बालबालिका कक्षा छाड्न बाध्य छन् ।
‘आफ्ना छोराछोरीलाई विद्यालयमा सुरक्षित राख्न र व्यवसाय गर्न पाएकाले हामी अहिले खुसी छौं,’ थापाले भने । विद्यालयले बालबालिकालाई खाना र बासको व्यवस्था पनि गरेको छ ।