मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई ध्यानमा राख्दै सुरक्षा निकायले निगरानी बढाएको छ ।
दोहोरो निर्वाचनका लागि तीन सुरक्षा निकायका करिब तीन लाख सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमध्ये ७१,६९३ नेपाल प्रहरी र १,१५,००० अस्थायी प्रहरी छन् ।
त्यसैगरी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न नेपाली सेनाको ७५,००० र सशस्त्र प्रहरी बल ३५,००० को संख्यामा खटाइएको छ ।
यसपटक आवश्यकताका आधारमा निर्वाचन सुरक्षाका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलले मतदान केन्द्रमा देखिएका चुनौतीको मूल्याङ्कन गर्दै निर्वाचन सुरक्षा व्यवस्था कडा पारिएको बताए ।
एकीकृत सुरक्षा योजना लागू गरिएको छ जसअनुसार सुरक्षा निकायले तीन तहमा सुरक्षा दिनेछन् । पहिलो रिङमा नेपाल प्रहरीले सुरक्षा दिनेछ भने दोस्रो र तेस्रोमा क्रमशः सशस्त्र प्रहरी बल र नेपाली सेनाले सुरक्षा दिनेछ ।
नेपाल प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले निर्वाचन सुरक्षा योजना राम्रो र भरपर्दो रहेको बताउनुभयो । उनले भने, ‘मतदाताले निर्धक्क भएर मतदान गर्न पाउनेछन्।’
उनका अनुसार २८ साना समूहले निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका छन् । प्रवक्ता राईका अनुसार सुरक्षा निकायले उनीहरुको नजिकबाट निगरानी गरिरहेको छ ।
विगतमा निर्वाचनको दृष्टिकोणले नमानिएका क्षेत्रमा नेपाल प्रहरीले आफ्ना जनशक्ति परिचालन गरेको छ ।
प्रहरीले विगतको अनुभवबाट सिकेर आपतकालिन सुरक्षा योजना पनि बनाएको राईले बताए । नेपाल निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन आयोग आफैं सक्रिय भएर लागेकाले अब सहज भएको प्रहरीको निष्कर्ष छ ।
निर्वाचन सुरक्षामा दोस्रो घेरामा तैनाथ सशस्त्र प्रहरी बलले आवश्यक संख्यामा जनशक्ति परिचालन गरिसकेको छ भने कतिपय आवश्यकताका आधारमा तैनाथ गर्न तयारी अवस्थामा छन् ।
सशस्त्र प्रहरी बलले मुख्यतया निर्वाचन कार्यालय, निर्वाचन अधिकृत, प्रमुख निर्वाचन अधिकृत लगायतलाई सुरक्षा प्रदान गर्नेछ । सशस्त्र प्रहरी बलका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक पुरुषोत्तम थापाले निर्वाचनका लागि विभिन्न स्थानमा सुरक्षा चौकी तयार पारिएको र सादा पोशाकमा सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए ।
त्यसैगरी सशस्त्र प्रहरी बलबाट मोबाइल गस्ती पनि भइरहेको छ भने सीमावर्ती क्षेत्रमा पनि निगरानी बढाइएको छ ।
एकीकृत सुरक्षा योजनाले दिएको कार्यादेशअनुसार नेपाली सेनाले सबै जिल्लामा अनुगमन सुरु गरिसकेको नेपाली सेनाका प्रवक्ता सहायकरथी नारायण सिलवालले जानकारी दिए ।
यस अघि निर्वाचनका बेला सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सुरक्षामा रहेका कारागार, विमानस्थल र अन्य महत्वपूर्ण पूर्वाधार यसपटक नेपाली सेनाले पहरा दिइरहेको छ ।
यसका साथै मतपत्र छपाई र त्यसको ढुवानीको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ । निर्वाचनका बेला बम डिस्पोज गर्ने वा शंकास्पद बस्तु तथा विष्फोटक पदार्थलाई निस्क्रिय पार्न सेनाले हवाई निगरानीको तयारी गरिसकेको प्रवक्ता सिलवालले जानकारी दिए । (RSS)