जलेश्वर। लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले यसपटक आफ्नो उम्मेदवारी अन्तिम पटक भएको बताएका छन् ।
महोत्तरी क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार ठाकुरले अर्को पटक चुनावमा नउठ्ने बताए ।
घरदैलो अभियानका क्रममा अध्यक्ष ठाकुरले आफ्नो अन्तिम प्रयास भएकाले आफूलाई मतदान गर्न मतदातालाई आग्रह गर्दै आएका छन् ।
विसं २०७४ मा यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका उनले मधेसी जनताको पहिचान र अधिकारका बाँकी काम पूरा गर्न आफूलाई विजयी गराउन मतदातासमक्ष आग्रह गर्दै आएका छन् ।
ठाकुरले आफ्नो निर्वाचन क्षेत्रमा शिक्षा, स्वास्थ्य, विकासलगायतका विभिन्न क्षेत्रमा काम गरेको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने बताए । (RSS)