निर्वाचन आयोगले मतदानको दिन अत्यावश्यक सेवाका लागि प्रयोग हुने सवारी साधनलाई सवारी पास आवश्यक नपर्ने जनाएको छ । मंसिर ४ गते मतदानका दिन अत्यावश्यक सेवाका लागि प्रयोग हुने सवारी साधनको सहजताका लागि आयोगले यस्तो व्यवस्था गरेको हो ।
एम्बुलेन्स, दमकल, खानेपानी ट्याङ्कर, फोहोर ढुवानी गर्ने सवारी साधन, दूध भ्यान, दूरसञ्चार तथा केबल सेवाका लागि प्रयोग हुने सवारी साधन तथा अस्पतालको पहिचान बोकेका चिकित्सक, स्वास्थ्य सेवाकर्मी र कर्मचारी बोक्ने सवारी साधनलाई सवारी पास आवश्यक नहुने आयोगले जनाएको छ ।
यस्तै सूचना तथा प्रसारण विभाग वा प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालय वा प्रदेश सरकार मातहतको सञ्चार प्राधिकरण वा अन्य त्यस्तै प्रकृतिको नियामक निकायबाट जारी गरिएको प्रेस पास वा प्रचलित कानुनबमोजिम दर्ता र प्रेस काउन्सिल नेपालमा सूचीकृत भई सञ्चालनमा रहेका सम्बन्धित सञ्चार गृहबाट जारी परिचय पत्रवाहक सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधन निर्वाध रूपमा सञ्चालन हुने छन् ।
निर्वाचन पर्यवेक्षक र निर्वाचन आयोगले जारी गरेको परिचयपत्र बोकेका अनुगमनकर्ताले प्रयोग गर्ने सवारी साधन, तरकारी, फलफूल बोक्ने सवारी साधन र विद्युत सेवामा प्रयोग हुने सवारी साधन, कूटनीतिक नियोगले प्रयोग गर्ने निलो नम्बर प्लेट भएका सवारीसाधन, संयुक्त राष्ट्रसंघीय निकाय र त्यहाँ कार्यरत अधिकारीहरूले द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार संस्था र विदेशी पर्यटक ओसारपसारका लागि मात्र प्रयोग हुने हरियो नम्बर प्लेट भएका सवारी साधनलाई पास चाहिने छैन ।
त्यसैगरी सुरक्षाकर्मीले प्रयोग गर्ने सुरक्षा निकायका सवारी साधन र निर्वाचनमा खटिएका कर्मचारी तथा स्वयंसेवकले प्रयोग गर्ने सवारी साधनलाई पनि पास चाहिने छैन ।
निर्वाचन आयोगले अत्यावश्यक सेवाका लागि प्रयोग हुने सवारी साधनलाई मतदाता ओसारपसार गर्न नदिने चेतावनी दिएको छ । (RSS)