सुदूरपश्चिम प्रदेशमा गए राति ८ बजेर १२ मिनेटमा ५.४ म्याग्निच्युडको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन अनुगमन तथा अनुसन्धान केन्द्र सुर्खेतका अनुसार बझाङ जिल्लाको पाटादेवल केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
बैतडी, दार्चुला, डडेल्धुरा, अछाम, कञ्चनपुर, कैलालीलगायत जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । अहिलेसम्म क्षतिको विवरण नआएको प्रहरीले जनाएको छ ।
गत साता सुदूरपश्चिम प्रदेशमा कार्तिक २३ र २४ गते पूरै क्षेत्रमा भूकम्प गएको थियो। कार्तिक २४ गते गएको ६.६ रेक्टर स्केलको दोस्रो भूकम्पले ६ जनाको ज्यान लिएको थियो । भूकम्पको धक्का भारतको नयाँ दिल्लीसम्म महसुस गरिएको थियो ।
यस क्षेत्रमा २०० भन्दा बढी पराकम्पन गएको छ ।
प्रहरीका अनुसार गत साताको भूकम्पले स्थानीयको घरलाई कमजोर बनाएको हुनाले परकम्पहरु आउने क्रम जारी रहेकाले उनीहरुलाई बाहिरै बस्न आग्रह गरेको छ ।
शनिबारको भूकम्पपछि एउटै घरमा बस्नु जोखिमपूर्ण भएको पाटादेवल प्रहरी चौकीका प्रहरी नायब निरीक्षक रामबहादुर बमले बताए । (RSS)