रुस-युक्रेन तनावपछि लगातार बढेको खाद्य तेलको मूल्य दशैं र तिहारको शुरुवातसँगै घटेको थियो ।
चाडपर्वपछि फेरि उकालो लाग्न थालेको छ । तिहारपछि खाना पकाउने तेलको मूल्य प्रतिलिटर ५० रुपैयाँले बढेको छ ।
तिहारदेखि हरेक ब्राण्डको खाना पकाउने तेलको खुद्रा मूल्य प्रतिलिटर २० देखि ५० रुपैयाँले बढेको खुद्रा व्यापार संघले जनाएको छ । दशैंमा प्रतिलिटर २४० रुपैयाँ रहेको भटमासको भाउ अहिले २८० रुपैयाँमा पुगेको छ भने तोरीको तेलको मूल्य प्रतिलिटर ३२० रुपैयाँबाट अहिले ३४० रुपैयाँ पुगेको छ । त्यस्तै, सूर्यमुखीको मूल्य ३०० रुपैयाँ बाट बढेर ३५० रुपैयाँ पुगेको छ ।
केही समय तेलको भाउ बढ्न सक्ने उद्योगीहरुले बताएका छन् । नेपाल दाल, चामल तथा आयल संघका अध्यक्ष सुबोधकुमार गुप्ताले अन्तर्राष्ट्रिय बजारमा सुधार नभएकाले तत्काल मूल्य घट्ने वा स्थिर हुने सम्भावना नरहेको बताए ।
उनले रुस-युक्रेन तनावका कारण लामो समयदेखि कच्चा पदार्थ उत्पादन गर्न नसक्दा मूल्य बढ्न सक्ने सङ्केत रहेको बताए । उनका अनुसार द्वन्द्वका कारण आगामी दुई वर्षसम्म विश्व बजारमा तेलको मूल्यमा असर पर्ने सम्भावना छ ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा उद्योगी र थोक व्यापारीको तर्कलाई साना तथा खुद्रा व्यापारी मान्न तयार छैनन् । आगामी निर्वाचनका कारण उद्योगीले मनमानी ढंगले तेलको मूल्य बढाएको उनीहरुको आरोप छ ।
खुद्रा ट्रेड युनियनका महासचिव अमुलकाजी तुलाधरले चुनावका बेला ठूला उद्योगी र व्यापारीले पार्टीका नेतालाई ठूलो रकम चन्दा दिने गरेकाले खाद्यान्नको मूल्यमा असर परेको बताए ।
तुलाधरले प्रश्न गरे, ‘कच्चा पदार्थको अभाव र डलरको भाउ बढेकाले समस्या भएको हो भने दशैंअघि घटेको भाउ यति छोटो अवधिमा कसरी बढ्न सक्छ ?’
अर्को समस्या भनेको डलरको भाउ केही रुपैयाँले मात्र बढेको अवस्थामा तेलको भाउ ह्वात्तै बढाउनुपर्ने अवस्था छैन’, तुलाधरले भने ।