नेपालगन्ज । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि बाँकेको नेपाल–भारत सीमा नाका तीन दिन बन्द रहने भएको छ ।निर्वाचन स्वतन्त्र, निष्पक्ष र स्वतन्त्र बनाउन बाँकेका सबै नाका बन्द गर्ने निर्णय गरिएको छ । कार्तिक ३० गतेदेखि ७२ घण्टा नेपाल–भारत जमुनाह नाकासहित जिल्लाका नाका बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
नेपाल र भारतका सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीबीच हालै भएको सहमतिअनुसार नेपाल–भारत सीमा नाका कार्तिक ३० मध्यरात देखि मंसिर ४ मध्यरातसम्म बन्द रहने प्रमुख जिल्ला अधिकारी (सिडिओ) सूर्यबहादुर खत्रीले बताए ।
साथै बर्दियाको मुख्य नाका गुलरिया र जिल्लाका अन्य सबै नाकाहरु पनि बन्द रहनेछन् ।
सिडिओ खत्रीले नेपाल मात्र नभई भारतीय प्रशासनले पनि आफ्नो तर्फबाट नाका पूर्ण रुपमा बन्द गर्ने जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार तोकिएको अवधिमा सीमा नाकाबाट सवारी साधन तथा मानिसको आवतजावतमा पूर्ण रोक लगाइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख तथा एसपी श्यामकृष्ण अधिकारीले निषेधाज्ञाका क्रममा जबरजस्ती प्रवेश गर्ने जो कोहीलाई कानुनबमोजिम कारबाही गरिने बताए ।
‘जमुनाहको मुख्य नाका लगायत आसपासका सबै नाकामा सुरक्षाकर्मीको संख्या बढाएर तीन दिन लगातार सुरक्षा गस्ती गर्ने र दुवै देशका सुरक्षाकर्मीले संयुक्त गस्ती पनि गर्ने एसपी अधिकारीले जानकारी दिनु भयो ।
त्यसैगरी भारतसँग सीमा जोडिएको बाँके जिल्लाका अधिकांश मतदान केन्द्र अतिसंवेदनशील भएकाले सोही अनुसार सुरक्षा व्यवस्था मिलाइएको र जनशक्ति पनि बढाइएको छ ।
सीमा सुरक्षालाई प्रभावकारी बनाउन सीमा क्षेत्रमा दुवै देशका सुरक्षा अधिकारीबीच दैनिक छलफल र भेटघाट भइरहेको बाँके प्रशासनले जनाएको छ ।