आगामी निर्वाचनको फाइदा उठाउँदै व्यवसायीले बजारमा उपभोग्य वस्तुको मूल्य बढाएका छन् । मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा व्यवसायीले बजारमा उपभोग्य वस्तुको मूल्य १५ प्रतिशतभन्दा बढीले वृद्धि गरेका छन् ।
सरकारको सबै ध्यान निर्वाचनमा केन्द्रित भएकाले मूल्यवृद्धिले उपभोक्ता मारमा परेका छन् । सरकारका बजार नियामक निकायका कर्मचारी पनि चुनावमा केन्द्रित भएकाले व्यापारीले मनपरी मूल्य तोक्न थालेको उपभोक्ताको गुनासो छ ।
नेपाल खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्र बज्राचार्यले दशैं र तिहारपछि हरेक वस्तुको मूल्य १५ प्रतिशतले बढेको बताइन् ।
बज्राचार्यले एक वर्षमा उपभोग्य वस्तुको मूल्य ३० प्रतिशतभन्दा बढी बढेको बताए । बज्राचार्यका अनुसार दशैं र तिहारमा प्रतिलिटर २४० रुपैयाँमा पर्ने खाना पकाउने तेल अहिले २८० रुपैयाँमा पुगेको छ ।सूर्यमुखी, भटमास र तोरीको तेलको मूल्य पनि प्रतिलिटर ४० रुपैयाँले बढेको बज्राचार्यले जानकारी दिए ।
खाना पकाउने तेल, दाल र चामलको मूल्य बढेको कुलेश्वरका थोक व्यापारी मनोज श्रेष्ठले बताए । डलरको भाउ बढेकाले बजारमा खाना पकाउने तेलको भाउ बढेको श्रेष्ठको तर्क छ ।
खाद्यान्न किन्न कुलेश्वर आएका विष्णु प्रधानले दाल, चामल, तेल महँगो भएकाले किन्न नसकेको गुनासो गरे । भारतले चामलमा कर घटाए पनि व्यापारीले मूल्य नघटाएको उनले बताए र अनुगमनमा ध्यान दिन सरकारलाई आग्रह पनि गरे ।
भारतबाट आउने चामलको मात्रै मूल्य बढेको तर नेपालमा उत्पादन हुने चामलको मूल्य भने नघटेको व्यवसायीले बताएका छन् । तर उपभोक्ताहरू यो विचारलाई स्वीकार गर्न तयार छैनन्।