आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई ध्यानमा राख्दै मुलुकको संघीय राजधानी काठमाडौंमा ५,७७९ सुरक्षाकर्मी परिचालन गरिएको छ ।
काठमाडौं जिल्लामा शान्तिपूर्ण रुपमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र सम्पन्न गर्न सुरक्षाकर्मी परिचालन गरिएको हो ।
बिहीबार मध्यरातबाट देशभर मौन अवधि लागू भएको छ । निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न मतदान केन्द्रको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सुरक्षाकर्मी परिचालन गरिएको छ ।
काठमाडौं जिल्लाका ३२० मतदान केन्द्र र ७५७ मतदान केन्द्रमा नेपाल प्रहरीका २,५०० सुरक्षाकर्मी र ३,२७९ अस्थायी प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।
नेपाल प्रहरीले नियमित मोवाइल गस्ती गरिरहेको र सादा पोशाकमा खटिएका प्रहरी जवानले पनि निर्वाचन आचारसंहिताको पालना वा उल्लङ्घन भए नभएको अनुगमन गरिरहेको एसपी मैनालीले जानकारी दिनु भयो ।
नेपाल प्रहरीले नाकाहरुमा सुरक्षा जाँच गरिरहेको छ । (RSS)