बझाङ । जिल्ला अस्पताल बझाङ न्यूनतम सेवाको मापदण्डमा सुदूरपश्चिममा दोस्रो स्थानमा परेको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको स्थलगत अनुगमनमा जिल्ला अस्पताल उत्कृष्ट दोस्रो भएको हो ।
न्यूनतम सेवा मापदण्ड अनुगमनमा जिल्ला अस्पातलले ८४ प्रतिशत अङ्क ल्याएर प्रदेशकै दोस्रो भएको जिल्ला अस्पतालका प्रमुख डा. नबराज जोशीले बताए । गत वर्ष अस्पतालले वर्षमा दुई पटक गरेको अनुगमनमा ८४ प्रतिशत अंक ल्याएको थियो । यही मंसिरमा गरेको अनुगमनमा ८४ प्रतिशत अङ्क ल्याउँदै दोस्रो हुन सफल भएको हो ।
अस्पताललाई विभिन्न मापदण्ड र सूचकका आधारमा अंक दिइएको बताइएको छ । अस्पतालका प्रमुख डा जोशीले प्रशासन, क्लिनिकल सेवा र अस्पताल सहयोग प्रणालीमा आधारित अनुगमनमा प्रदेशमै दोस्रो हुन सफल भएको बताए ।
न्यूनतम सेवा मापदण्डमा उत्कृष्ट दोस्रो हुँदा आफूलाई निकै खुसी लागेको र नया भवनमा सरेकोले धेरै ब्यवस्थापन हुन लागेकाले अबको ६ महिना पछि हुने मुल्यांकनमा ९० प्रतिशत ल्याउने गरी काम भैरहेको डा जोशीले बताए ।
डा नवराज जोशी जिल्लामा आएपछि जिल्ला अस्पतालमा विशेषज्ञ सेवा सुरु भएको छ । जिल्ला अस्पतालमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ, अर्थोपेडिक विशेषज्ञ र सामान्य शल्यक्रिया गरी तीन विशेषज्ञ सेवा विस्तार गरिएको छ । जिल्लामा यस्ता सेवा पाएपछि उपचारका लागि बाहिर जानुपर्ने समस्या कम भएको र आर्थिक भार पनि कम भएको सेवाग्राहीले बताएका छन् ।