नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले कोभिड-१९ विरुद्धको खोप शतप्रतिशत पूरा गर्न खोप अभियान सञ्चालन गर्ने भएको छ । अझै पनि जिल्लाका ग्रामीण क्षेत्रका जनतालाई कोभिड-१९ विरुद्धको खोप लगाउन बाँकी रहेकाले खोप अभियान सञ्चालन गर्न लागिएको हो ।
नेपाल रेडक्रस सोसाइटी पर्साका अध्यक्ष वीरेन्द्रराज कँडेलले सबै नागरिकलाई खोप उपलब्ध गराउने उद्देश्यले कोभिड-१९ विरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको बताए । पर्साको पखमैनपुर गाउँपालिका र विन्दवासिनी गाउँपालिकालाई खोप दिन बाँकी छ ।
नेपाल रेडक्रस सोसाइटी पर्साका कार्यक्रम संयोजक अजय यादवले पर्साको पखमैनपुर र बिन्दवासिनी गाउँपालिकामा जनचेतनामूलक कार्यका साथै विद्यालयमा अभियान सञ्चालन गर्ने योजना रहेको बताए ।
विन्दवासिनी गाउँपालिकामा ५ देखि ११ वर्षका १२ हजार ८ सय ९१, १२ देखि १७ वर्षका ४ सय ६४ र १८ वर्षभन्दा माथिका १२ हजार ३ सय ५१ जनालाई खोप लगाइएको छ ।
अर्कोतर्फ ५ देखि ११ वर्षका ३ हजार ७ सय २६, १२ देखि १७ वर्षका २ हजार ८ सय ५४ र १८ वर्ष माथिका ६ हजार ९ सय ४८ जनालाई खोप लगाउन बाँकी छ ।
त्यसैगरी पाकहमैंपुर गाउँपालिकामा ५ देखि ११ वर्षका १३ हजार ४ सय ७६, १२ देखि १७ वर्षका दुई हजार ८२२ र १८ वर्षभन्दा माथिका १० हजार ७७७ जनालाई खोप लगाइएको छ । तर ५ देखि ११ वर्ष उमेर समूहका ५ हजार ७ सय ७८, १२ देखि १७ वर्षका ७ सय ४३ र १८ वर्षभन्दा माथिका ५ हजार ६ सय ५२ जनालाई खोप लगाउन बाँकी छ ।
नेपाल रेडक्रस सोसाइटी पर्साका अनुसार सर्वेक्षणका क्रममा कतिपयसँग खोप कार्डसमेत नभएको पाइएको छ ।