पश्चिमी रुकुम । रुकुम पश्चिममा ६ सय ९६ आँखाका बिरामीको परीक्षण र १ सय ४६ जनाको मोतिबिन्दुको शल्यक्रिया गरिएको छ । जिल्ला अस्पताल सल्लेमा आयोजित दुईदिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा यो सेवा प्रदान गरिएको हो ।
आँखा शिविरमा १ सय ४६ आँखाका बिरामीको मोतिबिन्दुको शल्यक्रिया र ६ सय ९६ जनाको नि:शुल्क परीक्षण गरिएको आँखा उपचार केन्द्र सल्लेका प्रमुख धनबहादुर केसीले जानकारी दिए ।
केसीका अनुसार आँखा विशेषज्ञ डा सुरेश रसाइली नेतृत्वको टोलीले १६ जना स्वास्थ्यकर्मीसहितको नि:शुल्क आँखा जाँच शिविर सञ्चालन गरेको हो ।
विशेषगरी मोतियाबिन्दुका बिरामीलाई लक्षित गरी बिहीबार र शुक्रबार शिविर सञ्चालन गरिएको हो । गाउँ-गाउँमा आँखा जाँच शिविर सञ्चालन गरी शल्यक्रिया आवश्यक पर्ने बिरामीलाई छनोट गरी जिल्ला स्तरमा विशेषज्ञ सेवासहित सञ्चालन गरिएको शिविरमा ल्याइयो ।
नेपाल नेत्र ज्योति संघ, एकीकृत आँखा तथा कान कार्यक्रम कर्णाली प्रदेश सुर्खेतको आर्थिक सहयोग र मुसिकोट नगरपालिकाको स्थानीय व्यवस्थापनमा रहेको राप्ती आँखा अस्पताल तुलसीपुर दाङ र आँखा उपचार केन्द्र सल्लेको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो ।
जिल्लाको सानीभेरी गाउँपालिका–११ ले आफ्नो क्षेत्रका १३ ज्येष्ठ नागरिकको मोतिबिन्दुको शल्यक्रिया खर्चको व्यवस्था गरेको छ ।
उक्त वार्डले आफ्नो क्षेत्रका ज्येष्ठ नागरिकलाई आँखा जाँच र मोतिबिन्दुको शल्यक्रियाका लागि अस्पताल लैजाने गरेको वडाध्यक्ष भूपालसिंह ओलीले जानकारी दिए । वडाले वृद्धवृद्धाका लागि खाना र बासको व्यवस्था गरेको थियो ।
सानीभेरी गाउँपालिका र सल्ले आँखा अस्पतालको प्राविधिक सहयोगमा मंसिर १७ गते उक्त वडामा आँखा जाँच शिविर आयोजना गरिएको थियो । मोतीबिन्दुको समस्या देखिएका वृद्धवृद्धालाई वडा कार्यालयले मुख्यालयमा रहेको शिविरमा लगेर शल्यक्रिया गरेको थियो ।
आँखा शिविरमा वडा नं ११ का ९४ जनाको चेकजाँच गर्दा २८ जनामा मोतियाबिन्दुको समस्या देखिएको थियो । वार्डमा आयोजित शिविरमा अन्य २४ जनालाई चस्मा प्रदान गरिएको थियो ।
मोतियाबिन्दु भएका २८ जनालाई उपचार आवश्यक भए पनि १३ जना मात्रै उपचारका लागि आएको वडाध्यक्ष ओलीले बताए ।