काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दै गएको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सावधानी अपनाउन आग्रह गरेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले चिसो मौसममा संक्रमणको जोखिम बढ्दै गएको भन्दै सचेत रहन सबैलाई अपिल गरेका छन् । केही दिनयता लगातार तापक्रम घट्न थालेपछि ज्येष्ठ नागरिक, दीर्घकालीन बिरामी, बालबालिका, गर्भवती आमालाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।
शुक्रबार काठमाडौंको तापक्रम ७ दशमलव ६ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बढ्दो चिसोबाट जोगिन र न्यानो रहन सर्वसाधारणलाई मन्त्रालयले आग्रह गरेको छ ।
साथै, मन्त्रालयले तातो खाना खान र मनतातो पानी पिउन सल्लाह दिँदै धेरै समय बाहिर र खुला ठाउँमा नबस्न सुझाव दिएको छ । हिटर वा गीजर प्रयोग गर्दा उचित भेन्टिलेसन कायम गर्नुपर्छ, मन्त्रालयले भन्यो।
दूषित पानी र खानाका कारण संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मन्त्रालयले खानेकुरामा विशेष ध्यान दिन सबैलाई आग्रह गरेको छ । खाना तयार गर्नु र खानु अघि हात धुनु पनि सिफारिस गरिन्छ। (RSS)