केही दिनयता अत्याधिक चिसोले सर्लाही जिल्ला लगायत तराईको जनजीवन प्रभावित भएको छ ।
दुई दिनअघिसम्म बिहान बेलुका र रातको समयमा चिसो भए पनि दिनभर पारिलो घाम लाग्ने गरेको थियो। तर बुधबारदेखि बाक्लो हुस्सु लागेर कठ्याङ्ग्रिने चिसो हुन थालेपछि मधेस प्रदेशको जनजीवन प्रभावित हुन थालेको छ।
चिसो बढेसँगै बजारमा मानिसको आवतजावत र अन्य गतिविधि पनि ह्वात्तै घटेको छ ।
यसैबीच विभिन्न बस्तीमा चिसोका बिरामीको चाप पनि बढेको छ । दम, खोकी र जोर्नीशोथका बिरामीको संख्या ह्वात्तै बढेको छ ।
वृद्धवृद्धा, नवजात शिशु र नवजात आमाहरू सबैभन्दा बढी प्रभावित हुन्छन् वा चिसोको जोखिममा हुन्छन्।
यसैबीच, बुधबारदेखि अचानक तापक्रम घटेसँगै बाँके जिल्लासहित पश्चिम तराईको जनजीवन प्रभावित भएको छ ।
बिहानैदेखि बाक्लो कुहिरोले यस क्षेत्रमा आवतजावतमा असर गरेको छ । बिहीबार बाँके जिल्लाको न्यूनतम तापक्रम १० दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ ।
त्यसैगरी बिहानको बाक्लो हुस्सुका कारण भिजिबिलिटी कम भएकाले विगत दुई दिनदेखि नेपालगन्ज विमानस्थलबाट हुने नियमित उडान प्रभावित भएका छन् ।
तर, दिउँसो नियमित उडान भईरहेको नेपाल नागरिक उड्डयन प्राधिकरण बाँकेको कार्यालयले जनाएको छ ।