नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिका-७ मा निर्माण गरिएको सुनवल १३२ केभी सबस्टेसन सञ्चालनमा आएको छ । परासी क्षेत्रमा सञ्चालित उद्योगधन्दा तथा स्थानीयलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत् उपलब्ध गराउने गरी १३२ केभी सबस्टेसन निर्माण गरी आगामी दिनमा सञ्चालनमा ल्याउने भएको छ ।
हाल सञ्चालनमा रहेको पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनमा सुनवल सबस्टेसनमा इन्ट्री र एक्जिट रहेको छ । यो १३२ केभी लाइनबाट सुनवल सबस्टेसनमा विद्युत् आपूर्ति हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । सबस्टेसन सञ्चालनमा आएपछि सो क्षेत्रमा सञ्चालित स्टिल, सिमेन्टलगायतका उद्योग तथा स्थानीय उपभोक्तालाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति भएको छ ।
“अहिले बुटवल सबस्टेसनबाट लामो र कम क्षमताको ३३ केभी लाइनमार्फत् आपूर्ति दिँदा सुनवल तथा परासी क्षेत्रका उपभोक्ताबाट पर्याप्त विद्युत नपाएको, भोल्टेजको समस्या भएको, पटकपटक ट्रिपिङ हुनजस्ता गुनासाहरु आउने गरेका थिए । बुटवल सबस्टेसन पनि माग धान्न नसक्ने अवस्थामा पुगी ओभरलोडेड थियो”, कार्यकारी निर्देशक घिसिङले भने ।
‘सुनवल सबस्टेसन सञ्चालनमा आएसँगै बुटवल सबस्टेसनको चाप घटेको छ, सुनवल र परासी क्षेत्रमा विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय बनेको छ, उपभोक्ताले माग जति बिजुली पाउनेछन्, प्राविधिक चुहावट पनि घट्नेछ ।”
सबस्टेसनमा १३२/३३ र १३२/११ केभी क्षमताका पावर ट्रान्सफर्मर छन् । सबस्टेसनबाट स्थानीयरुपमा विद्युत् आपूर्तिका लागि निकालिने ३३ केभीका सात वटा फिडरमध्ये हाल तीन वटा सञ्चालनमा ल्याइएको छ । स्थानीय विद्युत आपूर्तिका लागि सबस्टेसनबाट निकालिएका ३३ केभीका सात फिडरमध्ये तीन वटा सञ्चालनमा ल्याइएका छन् ।
प्राधिकरणको लुम्बिनी क्षेत्रीय कार्यालयका निर्देशक नवराज ओझाका अनुसार ३३ केभीका तीन फिडरमध्ये एकबाट सर्वोत्तम सिमेन्ट र परासी बजार क्षेत्रमा, पाल्पा सिमेन्ट र रुपन्देहीको शितलनगर सबस्टेसन र अर्कोबाट लक्ष्मी स्टिलले विद्युत् आपूर्ति गरेको हो ।
औद्योगिक करिडोरमा विद्युत् आपूर्तिको व्यवस्थापनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत् प्राप्त भएको बजेट करिब रु ६९ करोडमा सुनवल सबस्टेसन निर्माण गरिएको हो ।