चितवनको मुग्लिन-नारायणगढ सडकखण्ड चारवटा पुल निर्माणका लागि मंगलबारदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ ।
नागढुंगा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन) का आयोजना प्रबन्धक किरण कार्कीले मुग्लिन सडकखण्डमा पुल निर्माणका लागि पहाड काट्नु पर्ने बताए ।
वैकल्पिक बाटो नभएकाले सडक बन्द गर्नुपरेको उनले बताए । प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ट्राफिक प्रहरीको समन्वयमा हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गर्ने कार्कीले जानकारी दिए ।
अहिले निर्माण कार्य भइरहेको भए पनि निर्माण कार्यलाई तीव्रता दिन र सुरक्षाका लागि सडकखण्ड बन्द गरिने भएको छ । उनले एक महिनाका लागि केही घण्टा सडकखण्ड बन्द गर्ने र कामको प्रगति समीक्षा गरी नयाँ समयतालिका तय गर्ने बताए ।
सडकखण्डमा १५ वटा पुल निर्माणाधीन छन् । अहिले चारवटा पुल निर्माणका लागि सडक बन्द गरिएको छ । आयोजना अनुसार सिमलताल, कालीखोला, तुइँखोला र चिसेन्जी खोलाको साँघुरो ठाउँमा हिमाल काट्नु पर्ने छ ।