रुकुम पश्चिम । रुकुम पश्चिमका निजी तथा आवासीय विद्यालयमा २५ करोडभन्दा बढी लगानी भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) रुकुम पश्चिमका अनुसार जिल्लाका निजी तथा आवासीय विद्यालयको समग्र व्यवस्थापन र भौतिक पूर्वाधार विकासका लागि २५ करोड १९ लाख रुपैयाँ लगानी गरिएको छ ।
प्याब्सनका अध्यक्ष विमल शर्माले शिक्षा क्षेत्रको सुधार र विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न लगानी गरिएको बताए । अहिले रुकुम पश्चिममा सञ्चालित २४ निजी तथा आवासीय विद्यालयमध्ये २१ वटा प्याब्सनसँग आबद्ध छन् भने तीन वटा आबद्ध हुन बाँकी रहेको उनले बताए ।
प्याब्सनसँग आवद्ध भएकामध्ये ६ माध्यमिक र १५ प्राथमिक विद्यालय रहेका छन्, शर्माले भने, यी विद्यालयमा ६ हजार २२१ विद्यार्थी अध्ययनरत छन् । त्यसैगरी निजी तथा आवासीय विद्यालयमा ३ सय ४१ शिक्षक तथा कर्मचारी कार्यरत रहेको प्याब्सनको वार्षिक प्रतिवेदनले जनाएको छ ।
जिल्लाको सदरमुकाम मुसिकोटमा बसेको प्याब्सनको आठौं साधारणसभामा पेश गरिएको प्रतिवेदनमा निजी र आवासीय विद्यालयका गरी ६ सय २९ विद्यार्थीले छात्रवृत्ति पाएका छन् ।
शर्माका अनुसार जिल्ला सदरमुकाम मुसिकोटमा सबैभन्दा बढी निजी विद्यालय रहेको जिल्लाका सबै स्थानीय तहमा निजी विद्यालय सञ्चालनमा छन् । प्याब्सन कर्णाली प्रदेशका अध्यक्ष खडकबहादुर कुँवरले निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरू उच्च शिक्षाका लागि उपलब्ध गराइने रिजर्भेसन सिट र छात्रवृत्ति र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले दिने छात्रवृत्तिबाट वञ्चित भएको बताए ।