डडेल्धुरा । संघीय सरकारअन्तर्गत सुदूरपश्चिम प्रदेशको एक मात्र अस्पताल डडेल्धुरा अस्पतालमा जनशक्ति अभाव भएको छ ।
अस्पताललाई उपक्षेत्रीयबाट डडेल्धुरा अस्पतालको नाम दिइएको र संघीय सरकारको मातहतमा सञ्चालित भए पनि अस्पतालमा दक्ष जनशक्तिको अभाव छ । हाल १९ विशेषज्ञ चिकित्सकको कोटा रहेको अस्पतालमा १२ जना मात्रै चिकित्सक कार्यरत छन् । तीमध्ये तीन जना मात्र स्थायी डाक्टर छन् भने नौ जना सरकारी छात्रवृत्तिमा एमबीबीएसको पाठ्यक्रम पूरा गरेका छन् ।
अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा यस क्षेत्रका बिरामी उपचारका लागि तराईका जिल्लाका अस्पतालमा जान बाध्य छन् ।
सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको मध्यभागमा रहेको अस्पतालमा चिकित्सक र स्वास्थ्य अधिकृतको अभावका कारण बिरामी उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता छ । हाल १८ वटा पद रिक्त रहेको अस्पतालमा तीन जना मात्रै मेडिकल अधिकृत छन् । यसअघि आठ जना मेडिकल अफिसर थिए । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. चेतराज भट्टले छात्रवृत्तिमा भर्ना भएका एमबीबीएस डाक्टरले यहाँको पढाइ सकेर सेवा दिइरहेको बताए । तिनीहरू दुई वर्ष सेवा गर्छन्।
डा भट्टका अनुसार अस्पतालमा हाल एक चिकित्सक, दुई अर्थोपेडिक सर्जन, दुई बालरोग विशेषज्ञ, एक एमडीजीपी, दुई जना सामान्य शल्यचिकित्सक, एक रेडियोलोजिस्ट, एक नाक घाँटी विशेषज्ञ, एक एनेस्थेसियोलोजिष्ट र एक ल्याब विशेषज्ञ गरी १२ विशेषज्ञ छन् । अहिले पनि सात जना विशेषज्ञ चिकित्सकको अभाव रहेको उहाँले बताउनुभयो ।
अस्पतालमा ३५ जना नर्स भए पनि हाल १० जना नर्स सुत्केरी बिदामा रहेकाले वार्डमा समस्या छ । १०० शैयाको अस्पतालमा आईसीयू, एनआईसीयू, सर्जिकल वार्ड, जनरल वार्ड र इमर्जेन्सी वार्ड छन् । एउटा वार्डमा पाँच जना नर्स तैनाथ भए पनि ३० जना नर्स तैनाथ गर्नुपर्ने हुन्छ । अहिले १० जना नर्स बिदामा रहेको बताउँदै डा भट्टले उपचार र बिरामीको हेरचाहमा समस्या भइरहेको बताए ।
उनले थप चिकित्सक र स्वास्थ्यकर्मीका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पटकपटक आग्रह गर्दा पनि अस्पतालमा चिकित्सक नपठाएको बताए । डा भट्टका अनुसार छात्रवृत्तिमा पढेका नयाँ एमबीबीएस डाक्टरहरू एक वर्ष मात्रै सेवा गरेर विभिन्न बहानामा अस्पताल छाड्ने गरेकाले अस्पतालमा जहिले पनि जनशक्तिको अभाव हुने गरेको छ ।