मानिसहरुले धेरै बाद विवाद गर्ने विषय मध्ये धर्म पनि एक हो l धारयती इति धर्म: भनेर यसलाई परिभाषित गरिएको छ l यसको मतलव हो यो संसारमा आएर मानिसले जे काम/पेशा गर्दछ त्यो नै उसको धर्म हो l डाक्टरको धर्म हो रोगीहरुको सेवा गर्नु , इन्जिनियरको धर्म नाप नक्सा सम्वन्धि काम, सुचिकारको धर्म कपडा शिलाउने आदि l त्यसोभए संसारमा किन यस्तोविधि विवाद त धर्मको विषयमाथि ? यो प्रस्नको उत्तर त विवाद गर्नेले दिने कुरा हो l बाहिर देखिएको कुरा के हो भने कुनै महापुरुष लाई हतियार बनाएर व्यक्तिगत स्वार्थ पूर्ति गर्नु l यसको उदाहरण हो श्रीकृष्णको नाममा अनेक सम्प्रदाय निर्माण गरेर आफ्नो सुविधाको हिसावले परिभाषित गर्नु , रामको नाममा आफ्नो मनमानी गर्नु l श्रीकृष्ण र श्रीरामले आफुलाई कुनै धर्म विशेषसंग गांछेर केहि कुरा गरेको कसैलाई थाहा छ ? यी महापुरुषहरुले त लोक कल्याणकारी काम मात्र गरेको देखिन्छ l
सनातन कालदेखि पथ प्रदर्शक बनेका महापुरुषलाई हिन्दु भनेर किटान गर्नु आफैमा हास्यास्पद कुरा हो l सिन्धु घाटीको सभ्यताको उदय संगै आएको हिन्दु शब्दले सनातन कालदेखि चल्दै आएको महान लोक कल्याणकारी सभ्यतालाई कुण्ठित पार्नु हुँदैन l वेद, रामायण, महाभारत, गीता आदि ग्रन्थहरु लोकको कल्याण गर्न लोकार्पण गरिएका महान ग्रन्थ हुन् , यी ग्रन्थ हिन्दुका हुन् अरुले पढ्नु हुँदैन भन्नु मुर्खता सिवाय केहि हैन l पछिल्ला कालखण्डमा उदय भएका बुद्धका उपदेशहरु, बाइबलक शन्देश, कुरानका कुरा, गुरुनानकका उपदेशहरु सवै मानव समाजका सम्पति हुन् l भगवान भनेर बिशेष गुण भएका मानिसहरुलाई सम्बोधन गरेको पाइन्छ, इश्वर एक अदृश्य शक्तिहो l शक्तिको श्रोत एकै हुन्छ भने इश्वर कसरि अलग हुन सक्दछ ?
धर्मको विवाद नगरौ, हामी मानव एकै हौँ , कुटुम्ब भएर बसौं, यो संसारलाई स्वर्ग बनाउने अभियानमा जुटौं l