भारतले नेपालतर्फ गहुँ निकासीमा लगाएको प्रतिबन्ध आंशिक रूपमा फुकुवा गरेको छ । रुस–युक्रेन युद्धपछि घरेलु उद्योगलाई जोगाउन दक्षिणी छिमेकीले सात महिनाअघि गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो ।
घरेलु उत्पादनमा कमी आएपछि भारतले अप्रिल १४ मा गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धका बाबजुद नयाँ दिल्लीले खाद्य सुरक्षाको आवश्यकता परेका देशहरूमा कोटा तोकेर गहुँ निर्यात गरिने बताएको छ।
नेपालको पिठो उद्योगलाई वार्षिक ६ लाख मेट्रिक टन गहुँ आवश्यक भए पनि भारतले नेपालतर्फ ५० हजार टन गहुँ निर्यात गर्ने निर्णय गरेको छ ।
नेपाल सरकारको अनुरोधमा भारतको विदेश व्यापार महानिर्देशनालयले बुधबार नेपालतर्फ गहुँ निर्यात गर्ने निर्णय गरेको हो ।
नेपाल सरकारले प्रतिबन्धका बाबजुद पनि ठूलो परिमाणमा गहुँ तस्करी भइरहेको भन्दै भारतबाट गहुँ निर्यातमा लगाइएको प्रतिबन्ध फुकुवा गर्न आग्रह गरेको थियो ।
नेपालको अनुरोधपछि भारतको विदेश व्यापार महानिर्देशनालयले बुधबार मार्च ३१, २०२३ सम्म ५० हजार टन गहुँ निकासी गर्न अनुमति दिएको राष्ट्रिय समाचार समिति (आरएसएस) ले जनाएको छ ।
भारतले नेपाललाई चाहिने गहुँको विवरण बुझाउन आग्रह गरेको छ ।