काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक स्थलमा जाँदा मास्क लगाउन सबैलाई अपिल गरेको छ ।
छिमेकी मुलुकमा कोभिड-१९ भाइरस बीएफ-७ को नयाँ संस्करणको सङ्क्रमण बढ्दै गएपछि मन्त्रालयले यस्तो आग्रह गरेको हो ।
मन्त्रालयले सबैलाई शारीरिक दुरी कायम राख्न र राम्ररी हात धुनेलगायत स्वास्थ्य प्रोटोकल पालना गर्न पनि आग्रह गरेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले विज्ञप्ति जारी गर्दै सार्वजनिक स्थानमा मास्क लगाउने, शारीरिक दूरी कायम गर्ने, सेनिटाइजर प्रयोग गर्ने, साबुन पानीले नियमित हात धुनेलगायत स्वास्थ्य नियमावली पालना गर्न सबैलाई आग्रह गरेका छन् ।
विज्ञप्तिमा कोभिड-१९ खोपको बूस्टर डोज पूरा गर्न सम्बन्धित सबैलाई अपिल गरिएको छ।
यसैबीच मन्त्रालयले नयाँ वर्ष २०२३ र क्रिसमस पर्व मनाउनेहरूलाई भीडभाड हुने ठाउँमा नजान र चाडपर्वलाई सावधानीपूर्वक मनाउन आग्रह गरेको छ ।
नेपालमा बीएफ-७ भेरियन्टको पुष्टि नभए पनि खुला सिमाना र आवतजावतका कारण छिमेकी भारत र चीनमा बढ्दै गएका कारण जोखिम उच्च रहेको विज्ञप्तिमा उल्लेख छ ।