काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तमु समुदाय र पुर्खाले बहादुरीका साथ हासिल गरेको गौरवशाली परम्परालाई सबैले मान्यता दिनुपर्ने बताएका छन् ।
तमु ह्युला छोँझा धि गुरुङ राष्ट्रिय परिषद्, काठमाडौंले आज ‘तमु ल्होसार पर्व २०२२’ मनाउन आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले तमु समुदायको आफ्नै छुट्टै र ऐतिहासिक पहिचान रहेको बताए ।
‘तमु जातिको इमान्दारिता, समर्पण, विश्वास, कष्ट, वीरता र त्यागबाट प्राप्त भएको गौरवपूर्ण पहिचान छ’, प्रधानमन्त्रीले भने, ‘तमु जातिले मात्रै नभई सिङ्गो नेपाली समुदायले यो पर्व मनाउन गर्व गरेको छ ।
सरकारले तमु समुदायलाई दिँदै आएको आर्थिक सहयोगलाई सरकारले रोकेको विषयमा आफ्नो ध्यानाकर्षण भएको बताउँदै उनले सहयोग रकम पनि बढाएको घोषणा गरे ।
“तमु ल्होसार निम्ति विगत सरकारले पनि सम्मान र सहानुभूतिस्वरुप आर्थिक सहयोग गर्दै आएको मलाई थाहा छ, म पनि दोस्रो चोटि प्रधानमन्त्री हुँदा मैले बोलेको थिएँ”, प्रधानमन्त्री दाहालले भने, “तर, मैले प्रधानमन्त्री छोडेपछि त्यो आर्थिक सहयोग भएन भनेर मलाई सुनाउनुभयो । यो पटक अहिलेसम्म दिइएको भन्दा बढी रकम दिइनेछ । र मेलै दिनेछु ।”
उनले नेपाल बहुजातीय, बहुभाषिक र सांस्कृतिक विविधताले भरिपूर्ण मुलुक भएको बताउँदै विविधतामा एकता नै नेपालीको पहिचान भएको बताए ।
सबै जातजाति, वर्ग र समुदायको वास्तविक पहिचानमा नेपालको पहिचान निहित रहेको प्रधानमन्त्री दाहालले बताए । गुरुङ समुदायले आज तमु ल्होसार देशभर मनाउँदैछन् । (RSS)