काठमाडौं । अमेरिकी डलरको भाउ बढेपछि भक्तपुर नगरपालिकाले विदेशी पर्यटकको प्रवेश शुल्क समायोजन गरेको छ ।
विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार स्क्वायर र यस क्षेत्रका अन्य पर्यटकीय स्थलहरूमा बाहिरबाट आएका व्यक्तिहरूबाट स्थानीय सरकारले निश्चित शुल्क लिने गरेको छ । यो वृद्धि जनवरी १, २०२३ देखि लागू भइसकेको छ।
अमेरिकी डलरको बढ्दो भाउलाई मध्यनजर गर्दै प्रवेश शुल्क समायोजन गरिएको नगरपालिका पर्यटन सूचना केन्द्रका प्रमुख गौतम लसिवाले बताए ।
सार्क राष्ट्रका पर्यटकका लागि प्रतिव्यक्ति रु ५०० प्रवेश शुल्क यथावत राखिएको छ भने अन्य राष्ट्रका पर्यटकका लागि प्रतिव्यक्ति रु १५०० बाट बढाएर रु एक हजार ८०० पुर्याएको छ ।
अहिले अमेरिकी डलर १ को मूल्य १ सय ३० रुपैयाँको हाराहारीमा रहेको छ । डलरमा तिर्न चाहनेले विगतको दरअनुसार १५ अमेरिकी डलर तिर्नुपर्ने भए पनि नेपाली मुद्रामा तिर्न चाहनेले १ हजार ८ सय रुपैयाँ तिर्नुपर्ने उनले बताए । (RSS)