नयाँ वर्ष २०२३ को पहिलो दिन भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोटदेखि रानीकोटसम्मका होटल आन्तरिक पर्यटकले भरिएका छन् ।
कोभिड–१९ का कारण झण्डै तीन वर्ष घाटा भोग्दै आएका होटल व्यवसायी आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएपछि उत्साहित छन् ।
सन् २०२३ को पहिलो सूर्योदय हेर्न आउने स्थानीय तथा विदेशी पर्यटकले नगरकोटका होटलहरू खचाखच भरिएका थिए ।शनिबार साँझ राती बसेर सूर्योदय र हिमाली श्रृङ्खला हेर्न नगरकोटमा पर्यटकको भीड लागेको थियो । कोभिड–१९ र सडकको जीर्ण अवस्थाका कारण नगरकोटको पर्यटन व्यवसायमा ह्रास आएको पर्यटन तथा होटल व्यवसायी अशोक थापाले बताए ।
नगरकोट बेस क्याम्प रिसोर्टका सञ्चालक समेत रहेका थापाले भने, ‘विदेशी पर्यटकको सङ्ख्यामा कमी आए पनि आन्तरिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।
नगरकोटको होटल मेरिगोल्डका सञ्चालक गोकुल लामिछानेले नगरकोटका होटल अहिले विदेशीभन्दा पनि आन्तरिक पर्यटकले भरिभराउ भएको बताए ।
उनले अहिले आन्तरिक पर्यटकको आगमनले ठूलो आशा जगाएको बताए ।
होटल चौतारी नगरकोटका सञ्चालकले भूकम्प र कोभिड–१९ का कारण व्यवसायमा आन्तरिक पर्यटकको आगमनसँगै सकारात्मक संकेत देखिएको बताए ।
नगरकोटबाट फर्किएका काठमाडौं बानेश्वरका पद्मलाल श्रेष्ठले एक साताअघि नै होटलको कोठा बुकिङ गरेको बताए । उनका परिवार र आफन्तसहित ११ जना शनिबार नगरकोट गएर आइतबार फर्किएका हुन् ।
चाँगुनारायण नगरपालिका–६ का वडाध्यक्ष एवं नगरकोट नल्दुम पर्यटन व्यवसायी संघका पूर्वसचिव धनबहादुर लामाले नयाँ वर्ष २०२३ लाई स्वागत गर्न नगरकोटमा आन्तरिक पर्यटकको भीड लागेको बताए ।
चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी नगरपालिकाले २०८२ लाई नगरकोट भ्रमण वर्ष मनाउने बताए ।
नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार गत वर्ष ६ लाख १४ हजार १४८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । यो २०२१ को तुलनामा ३९.७५ प्रतिशत र २०२० को तुलनामा १६६.९२ प्रतिशत बढी हो।