प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशबाट नेपाली नागरिकले दुईवटा मोबाइल साथमा ल्याउन दिन अर्थमन्त्री र अर्थसचिवलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री दाहालले मंगलबार बिहान अर्थमन्त्री विष्णु पौडेलसँग टेलिफोनमा अमेरिकाबाट फर्किएका नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारले दुईवटा मोबाइल ल्याउन नदिएको विषयमा कुराकानी गरेको प्रधानमन्त्रीका सहयोगी मनहरी तिमिल्सिनाले जानकारी दिए ।
उनले अर्थ सचिवलाई बालुवाटारमा बोलाएर आफ्नो निर्देशन कार्यान्वयन गर्न भनेका छन्, तिमिल्सिनाले बताए ।
निर्णयको चौतर्फी आलोचना भएपछि गत बिहीबार प्रधानमन्त्री दाहालले नेपाली नागरिकले विदेशबाट ल्याउने एकभन्दा बढी मोबाइलमा १८ प्रतिशत भन्सार लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अर्थमन्त्रीलाई निर्देशन दिएका थिए ।