काठमाडौं । काठमाडौंमा जारी नेपाल टी–२० लिगको विवाद र घटनाक्रम बुझ्न आएका आइसीसी प्रतिनिधिले बिहीबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङसँग भेट गरेका छन् ।
बुधबार साँझ नेपाल आएको आईसीसी टोलीले राष्ट्रिय खेलकुद परिषद् (एनएससी)का सदस्य सचिव टंकलाल घिसिङसँग दिउँसो भेट गरेको हो ।
यसअघि टोली विमानस्थलबाट सिधै कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा पुगेको थियो । त्यसपछि उनले सहभागी टोलीका प्रतिनिधिसँग भेट गरी आवश्यक प्रतिवेदन लिएका थिए । भेटका क्रममा टोलीले भ्रष्टाचार नियन्त्रण इकाई, अम्पायर र प्रतियोगिताका खेलाडीसँग भेटघाट गरेको थियो ।
क्यान स्रोतका अनुसार टोलीले क्रिकेट प्रतियोगिताको छानबिन गर्ने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)सँग पनि भेट गरेको थियो ।
नेपाल टी–२० लिगमा म्याच फिक्सिङ र स्पट फिक्सिङ गतिविधिको चर्चा मिडियामा आएपछि आइसिसीले दुई सदस्यीय टोली नेपाल पठाएको हो ।
विवाद उत्पन्न भएपछि नेविसंघले सत्यतथ्य छानबिन गरी १५ दिनभित्र परिषद्मा प्रतिवेदन पेश गर्न परिषद्का कार्यकारी समिति सदस्य एकेन्द्रबहादुर कुँवरको संयोजकत्वमा पाँच सदस्यीय छानबिन कार्यदल गठन गरेको थियो ।