काठमाडौं जिल्ला प्रशासन कार्यालयले दैनिक प्रशासनबाट सर्वसाधारणलाई दिने १० वटा सेवामा टाइम कार्ड लागू गरेको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि यस्तो निर्णय भएको हो ।
बिहीबारदेखि नयाँ नागरिकताको प्रमाणपत्र वितरण, संस्थाको नवीकरण, नाबालकको प्रमाणीकरण र परिचय, अदालत मुद्दा र बहसको मितिलगायत चार सेवामा टाइम कार्ड कार्यान्वयनमा आएको सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिनुभयो । बाँकी छ सेवाका लागि टाइम कार्ड पनि तयार भइसकेको र छिट्टै कार्यान्वयनमा आउने खत्रीले बताए ।
गृहमन्त्री लामिछानेले बिहीबार जिल्ला प्रशासन कार्यालयको निरीक्षण गरी कार्यालयका कर्मचारीले सर्वसाधारणलाई प्रदान गर्ने सेवाको निरीक्षण गरेका छन् । उपप्रधानमन्त्री लामिछाने दिउँसो ३ बजे कार्यालयको सेवा निरीक्षण गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका र एक घण्टा कार्यालयमै बसेको सहायक प्रजिअ खत्रीले बताए ।
कार्यालयको निरीक्षणपछि उपप्रधानमन्त्री लामिछानेले कार्यालयका कर्मचारीलाई आवश्यक पर्ने कागजपत्रसहित कार्यालय आउने सर्वसाधारणको सुविधाका लागि आफ्नो सेवा समर्पित गर्न निर्देशन दिनुभएको खत्रीले जानकारी दिए ।
अब तोकिएका कागजात पूरा गरेर आएका सेवाग्राहीले तोकिएको समयभित्र सेवा लिन पाउने प्रजिअ उपाध्यायले बताए । उनका अनुसार संस्था नवीकरण ३० मिनेटभित्र, नेपाली नागरिकता प्रमाणपत्र र नाबालक परिचयपत्र १ घण्टाभित्र, राष्ट्रिय परिचयपत्र कार्ड वितरण ३० मिनेट, राहदानी वितरण १५ मिनेटभित्र, जिल्ला प्रशासनबाट हुने सिफारिसपत्र १ घण्टा, मुद्दाको पेशी र तारेख ३० मिनेट र मुद्दाको फैसला ६० दिन भित्र हुने गरी सेवा प्रवाहमा टाइम कार्ड लगाइएको छ । त्यस्तै शुक्रबारबाहेक कार्यालय खुल्ने समय ५ दिन दिउँसो ३ बजेदेखि ४ बजेसम्म प्रजिअले गुनासो सुन्ने व्यवस्था पनि मिलाइएको छ । प्रशासनले ६५ वर्ष उमेर नाघेका, अशक्त, बच्चा बोकेका महिलालाई लाइनमा नबसी सेवा पाउने प्रबन्ध पनि सुरु गरेको छ ।
त्यसैगरी शुक्रबार बाहेक सीडीओले उजुरी सुनुवाइको समय दिउँसो ३ बजेदेखि ४ बजेसम्म तोकिएको छ । ६५ वर्षभन्दा माथिका महिला, अपाङ्गता भएका र बालबालिका भएकालाई लाइनमा नबस्नेलाई पनि प्रशासनले सेवा दिने व्यवस्था सुरु गरेको छ ।
त्यस्तै ७५ वर्षमाथिका वृद्धवृद्धालाई प्रशासनले सहयोगी नै खटाएर सेवा प्रदान गर्ने व्यवस्था पनि सुरु गरेको प्रजिअ उपाध्यायले बताए ।