काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा बाबुराम भट्टराईले पार्टी एकता बैठकको तयारी गरेका छन् । प्रचण्ड र बाबुराम ७ वर्षपछि पहिलो पटक एउटै पार्टीमा प्रवेश गर्ने तयारीमा छन् ।
शनिबार बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र बाबुरामबीच भेटवार्ता भएको थियो ।
बैठकले दुई पार्टीको एकतालाई जतिसक्दो चाँडो टुङ्ग्याउने र समाजवादी झुकावका दलहरुको सहकार्यका लागि खुकुलो मञ्च निर्माण गर्ने सहमति भएको छ ।
सो बैठकपछि बसेको माओवादी केन्द्रीय कार्यालयको बैठकले फराकिलो वाम एकताको पहलका लागि उपराष्ट्रपति कृष्णबहादुर महराको नेतृत्वमा वार्ता टोली गठन गरेको हो ।
पाँच सदस्यीय वार्ता टोलीमा महासचिव देव गुरुङ र उपसचिव गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेत रहेका छन् । नेसपाले आज राजनीतिक समितिको बैठक बोलाएको छ । बैठकले पार्टी एकताका लागि वार्ता टोली बनाउनेछ । नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठले भने, ‘पार्टी एकताका सबै विषयमा दुवै दलको वार्ता टोलीले छलफल गरी निर्णय गर्नेछ ।
तत्कालीन संविधानसभाले संविधान जारी गरेपछि भट्टराईले २०७२ असोज ९ मा माओवाद परित्यागको घोषणा गरेका थिए ।
केही समयपछि उनले नयाँ शक्ति पार्टी गठन गरे । पछि उनले यो पार्टीलाई जेएसपीमा विलय गरे । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग विभिन्न मतभिन्नता भएपछि उनले नेसपा गठन गरेका हुन् ।
भट्टराईको यो पार्टीले मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेकपा–माओवादी पार्टीको चुनाव चिन्हमा चुनाव लडेको थियो ।
त्यतिबेला भएको सहमति अनुसार अब यी दुई पार्टी एकता हुन लागेका हुन् । यसका लागि शनिबार दुई नेताबीच भेटवार्ता भएको थियो ।