काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज पुष २४ गतेदेखि सातै प्रदेशबाट संस्थागत र व्यक्तिगत श्रम स्वीकृति जारी गर्ने भएको छ ।
यसअघि मन्त्रालयले काठमाडौंबाट मात्रै श्रम स्वीकृति दिँदै आएको थियो ।
यसै सन्दर्भमा आगामी आइतबारदेखि विराटनगर र जनकपुरस्थित रोजगार कार्यालयबाट पनि श्रम स्वीकृति जारी गरिने मन्त्रालयले जनाएको छ ।
विराटनगर र जनकपुरस्थित रोजगार कार्यालयले श्रम स्वीकृति नवीकरण मात्र गर्दै आएको थियो ।
मन्त्रालयका सचिव एकनारायण अर्यालले पुष २४ गतेदेखि रोजगार कार्यालय जनकपुर र विराटनगरले पनि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति जारी गर्ने बताए ।
उनका अनुसार पोखरा र बुटवलस्थित वैदेशिक रोजगार कार्यालयले संस्थागत तथा व्यक्तिगत श्रम स्वीकृति जारी गर्ने, नवीकरण गर्नेलगायत तीनवटै प्रकारका सेवाहरू उपलब्ध गराउँदै आएको छ ।
सुर्खेत र कैलालीस्थित श्रम तथा रोजगार कार्यालयबाट पनि श्रम स्वीकृति नवीकरण र व्यक्तिगत श्रम स्वीकृति जारी गर्न थालिएको छ ।
विराटनगर र जनकपुरस्थित श्रम तथा रोजगार कार्यालयबाट आगामी आइतबारदेखि सबै प्रकारका श्रम स्वीकृति उपलब्ध गराउने व्यवस्था मिलाइएको मन्त्रालयका सहसचिव तथा प्रवक्ता दुण्डुराज घिमिरेले जानकारी दिए ।
यससँगै सातवटै प्रदेशका श्रम तथा रोजगार कार्यालयबाट सबै प्रकारका श्रम स्वीकृति दिने व्यवस्था मिलाइएको छ ।
मन्त्रालयले विज्ञप्तिमार्फत सेवाग्राहीलाई श्रम कार्यालयमा ब्यक्तिगत रुपमा उपस्थित नभई सबै प्रकारका श्रम स्वीकृति अनलाइनबाटै पाउने व्यवस्था मिलाइएको र विभिन्न झन्झट झेल्नु पर्ने समस्या हटेको जनाएको छ ।