काठमाडौं । प्रतिनिधिसभाको निर्वाचनपछि संघीय संसदको पहिलो बैठक आज (सोमबार) बस्दैछ ।
प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । यो प्रतिनिधिसभाको पहिलो र राष्ट्रियसभाको १३औँ अधिवेशन हुनेछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको पहिलो अविवेशन पुस २५ अर्थात आजका लागि आह्वान गरेकी थिइन् । बैठक दिउँसो १ बजेबाट सुरु हुनेछ ।
संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले प्रतिनिधिसभा र राष्ट्रियसभालाई राजनीतिक दलका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको बताए ।
आजको बैठकको अध्यक्षका रुपमा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणा रहने छन् । बैठकको प्रारम्भमा संसद अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपति कार्यालयद्वारा पठाइएको प्राप्त पत्र पढेर सुनाइने तालिका छ ।
त्यस्तै राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्ति र मन्त्रिरिषद गठनबारे संसदलाई जानकारी गराएको पत्र पढेर सुनाइने छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित विभिन्न पार्टीका शीर्ष नेताहरुले शुभकामनासहित आफ्नो धारणा राख्ने पनि कार्यसुची रहेको छ । संसदको संसद अधिवेशनको पहिलो दिन शुभकामना दिने कार्यक्रम विगतकै प्रचलन हो ।
आजको बैठकपछि भोलि अर्थात पुस २६ गते नै प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत लिँदैछन् । उनी एमालेसहित ७ दलको समर्थनमा पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
नेपालको संविधानको धारा ७६ (४) बमोजिम धारा ७६ (२) बमोजिम निर्वाचित प्रधानमन्त्रीले प्रधानमन्त्री निर्वाचित भएको ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।