माघे सङ्क्रान्ति नेपालीले मनाउने पर्वहरूमध्येको एक पर्व हो ।
माघ महिनाको १ गते मनाइने यो पर्वलाई थारु समुदायले माघीका रुपमा मनाउने र नयाँ वर्षको रुपमा लिने गर्दछन् । मगर समुदायले पनि यस पर्वलाई आफ्नो मुख्य पर्वका रूपमा ठूलो हर्षोल्लासका साथ मनाउने गरेका छन् भने नेपालका हिमाल, पहाड र तराईका सबै ठाउँमा आ–आफ्नो परम्परा, फरक–फरक विशेषता र प्रकृतिका साथ मनाइन्छ ।
यो जाडोयाममा पर्ने पर्व शरीरलाई न्यानो राख्न मद्दत गर्ने खानेकुराको प्रयोग स्वास्थ्यका दृष्टिले पनि फाइदाजनक हुन्छ । शिशिर ऋतुमा पर्ने यो संक्रान्तिमा शरिरको शुद्धि हुनुका साथै घ्यू चक्कु, तिल र खिचडी खानाले शरीरमा तातोको मात्रा बढाएर मसाहलीमा पकाएको तेल शरिरमा मालिस गर्ने जनविश्वास रहेको छ । चिसोबाट छुटकारा पाउनाले छाला तथा शरीरका अन्य रोगहरु नष्ट हुने विश्वास छ ।
माघीलाई थारु जातिको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो चाड मानिन्छ । यस पर्वलाई माघी पर्वका रुपमा निकै हर्षोल्लासका साथ मनाइन्छ । यस समुदायमा मसाले दाल र भात मिसाएर खिचडी खाने चलन छ ।
माघे सङ्क्रान्तिको दिन बिहान सबै नजिकैको खोला नालामा नुहाउन जाने चलन छ । यसलाई माघ लहानु भन्ने गरिन्छ । नुहाइसकेपछि घरमा आई दाल, चामल, नुन छोएर आफूभन्दा ठूलालाई ढोग गरी आशिर्वाद लिइन्छ । माघको दोस्रो दिन खिचडी बनाई खाने चलन रहेको छ । यो दिनलाई खिचरहवा भनिन्छ ।
माघे संक्रान्तिको अघिल्लो दिन अर्थात् पुसको अन्तिम दिन हरेक घरमा सुँगुर काट्ने चलन छ, जसलाई जीता मारना दिनु भनिन्छ । पुसको बीचमा घरमा सुँगुरको मासु, धिकरी, माछालगायतका परिकार पकाएर जाँडसँग खाने र रातभर नाच्ने चलन छ ।
अहिले सबैतिर माघे संक्रान्ति मनाउने चलन बढेको छ । माघे संक्रान्तिमा तिलका लड्डु, चाकु, तरुल, सेलरोटी जस्ता विभिन्न परिकारले मनाइन्छ ।
यो पर्व नेपालमा धेरै जातजाति र समुदाय बसोबास गर्ने सबैले मनाउने गर्छन् । माघीलाई थारु जातिको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो चाड पनि मानिन्छ ।